समीर अली बेहना । नेपालगन्ज ।
नेपालगन्जको एमपी स्कुलको नजिकै छ कसगर समुदायको टोल । सोही टोलकी सुफिया कसगर टन्टलापुर घाममा माटामा सामानहरु सुकाउँदै गरेको अवस्थामा भेटिइन् ।
दीपावली र छठपर्व नमनाउने भए पनि यस समुदायलाई यी दुई चाडले हर्ष बोकेर ल्याउँछन् । यी चाडबाडका बेला माटामा दियो तथा पालाहरूको व्यापार हुन्छ । उनीहरूको मिहिनेतले फल दिने समय हो दीपावली र छठ । तर, समयसँगै दीपावली र छठले पनि उनीहरूका सामान बिकाउन छाडेको सुफियाले बताइन् ।
सुफिनाको जस्तै अनुभवन छ स्थानीय सफीना कसरगरको पनि । ‘पहिले पहिले दीपावली तथा छठपर्वमा दैनिक हजार १५ सय जतिको ब्यापार मजाले हुन्थ्यो । तर अहिले दैनिक मुस्किलले ५ सय जतिको मात्र व्यापार हुन्छ,’ सफीनाले भनिन् ।
माटोका घरायसी र सजावटका सामानहरू बनाउने समुदाय हो कसगर समुदाय । माटाका सामान बनाउने कुम्हालहरू जस्तै परम्परागत सीप बोकेको यस कसगर समुदायले अहिले माटो र बजारको दोहोर अभाव झेलिरहेको छ । अभावको चेपुवामा परेर पेसा नै संकटोन्मुख रहेको यस समुदायका मानिसहरू बताउँछन् ।
समयसँगै माटोका सामानहरूको ठाउँ प्लास्टिक र स्टिलका सामानले लिन थाले । दियोको ठाउँ झिलीमिली बिजुली बत्तीले । अनि ताल पहिले माटो निकाल्ने गरिएका ताल तलैयाहरू पुरिन थाले, तलैयाहरूमाथि भौतिक संरचनाहरू बने । अनि माटोमै आश्रित कसगर तथा कुम्हालहरूको पेसाका लागि माटो किन्नुपर्ने अवस्था आयो । ऊनीहरूका अनुसार अहिले एक टिप्पर माटोलाई १० हजार, भाडा पकाउनका लागि चाहिने भुसलाई प्रतिक्विन्टल ६ हजार तिर्नुपर्छ । रङ र दाउराको खर्च अलग ।
अर्कोतिर बनाइसकेका सामानहरू पनि बेच्नका लागि अर्को संघर्ष गर्नुपर्छ उनीहरूले । प्रायः त्रिभुवन चोक र सदरलाइनको सडक पेटीमा बसेर सामान बेच्ने उनीहरूलाई नगर प्रहरीले देखि सहन्न । उस्तै परे सामानसमेत तोडफोड गरिदिन्छ । सफीनाले भनिन्, ‘हाम्रा सामान बेच्ने स्थान पनि छैन । केही समय अगाडि हामीले नगरपालिकालाई जानकारी गराएका थियौँ । नगरपालिकाले स्टल दिएर भाडा असुल गर्ने बताएको थियो । हामीलाई भाडा दिन गाह्रो होइन तर राम्रो व्यापार हुने स्थान पाउनुपर्छ ।’

कसगर समुदायका प्रायः महिलाहरू यो पेसामा संलग्न छन् भने अधिकांश पुरुषहरू भने अटो चलाउने र बुग्गी (घोडाको ठेलिया) चलाउने गर्छन् । उनीहरूले सिमेन्ट बोक्ने, सरिया बोक्ने र अन्य सामानहरू बोक्ने गर्छन् । सोफियाका अनुसार उनका श्रीमान्ले पहिला समानहरू साइकल र ठेलागाडामा लिएर बजार बेच्न जान्थे । तर बिक्री कम हुन थालेपछि त्यसरी जान छोडेका छन् । उनले भनिन्, ‘घरमै उत्पादन गरेर त्रिपालको छानोमुनि जोगाएर राख्छौँ । ग्राहकलाई आवश्यक परे यतै आउँछन् ।’
यस पेसामा संलग्नहरू अहिले पुर्खाले हस्तान्तरण गरेको सीपलाई जोगाउनका लागि भए पनि अपनाइरहेको बताउँछन् । पहिले बिक्री हुने मट्का, प्याला, गाग्रोलगायतका सामान अब खासै बिक्री नुहने गरेको उनीहरूको भनाइ छ । सफीना त अब केही नयाँ पेसा अपनाउने समय आएको जस्तो महसुस हुन थालेको बताउँछिन् ।
अहिले पनि कतिपय मानिसहरू तिहारमा माटोमै दियो र पालाहरू प्रयोग गर्छन् । उनीहरूकै कारण कसगरहरूको पेसा धानिएको छ । तीमध्येकी एक उदाहरण हुन् बर्दिया बाँसगढी वडा नम्बर ५ की गौरी लम्साल । बुधबार उनी दियो किन्नकै लागि भनेर बर्दियाबाट छोरासँगै नेपालगन्ज पुगेकी थिइन् ।
उनले भनिन्, ‘प्रविधि र विकासले जति परिवर्तन भए पनि रीतिरिवाज र परम्पराको स्थान लिन सक्दैन । हाम्रो लागि दियो बाल्नु एउटा परम्परा हो । हामी बत्ती पनि बाल्छौँ तर दियो पनि बाल्छौँ । उनले एक रुपैयाँ ४५ पैसाको दरले १ हजार ४ सय ५० रुपैयाँको १ हजार दियो किनेर लगेकी छन् । लम्सालले भनिन्, ‘हामी बस्ने क्षेत्रमा माटाका भाडा बनाउनेहरू छैनन् । आवश्यक परे नेपालगन्ज कि गुलरिया जानुपर्छ । नेपालगन्ज अलि नजिक पर्ने भएकाले यहाँ आएकी हुँ ।’









प्रतिक्रिया दिनुहोस्