नेपालगन्ज ।
नेपालगन्जमा मिठाई पसलहरूमा अनुगमन गर्दा गल्ती भेटिएपछि पाँचवटा मिठाई पसल कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका पसलहरूबाट ५५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, गुणस्तर तथा नापतौल कार्यालय बाँके र प्रहरी प्रशासनलगायतको सहभागितामा भएको संयुक्त बजार अनुगमनका क्रममा ८ वटा मिठाई पसल अनुगमन गरिएको थियो ।
सो क्रममा अमन स्वीट हाउसलाई २० हजार, फेमस हलुवा पराठालाई १० हजार, नेपालगन्ज मिष्ठान्न भण्डारलाई १० हजार, खुसी मिष्ठान भण्डारलाई १० हजार र माँ बागेश्वरी मिठाई पसललाई ५ हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले जनाएको छ ।
त्यसक्रममा खान अयोग्य तथा गुणस्तरहीन अवस्थाको १६ हजार ७ सय रुपैयाँबराबरको मिठाई नष्टसमेत गरिएको कार्यालयले जनाएको छ ।
कारबाहीमा परेका मिठाई पसलमा सरसफाइको अवस्था खराब रहेको र बिलबिजकहरू दुरुस्त नभएको पाइएको कार्यालयले जनाएको छ । अनुगमनमा मिठाई बनाउन प्रयोग हुने खुवाको गुणस्तर स्थलगतरूपमै प्राविधकहरूले जाँच गरेका थिए ।
उक्त जाँचमा एउटा मिठाई पसलबाहेक सबैमा कैफियत नभेटिएको पनि जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्