सनत सापकोटा । कोहलपुर ।
विश्वविख्यात कम्पनी अलिबाबाका मालिक ज्याक मासँग अनुहार मिलेकै कारण चीनको झेजियाङ प्रान्तको तोगसाङ सहरका एक ग्रोसरी स्टोर सञ्चालक मालामाल बनेको खबर केही समयअघि सञ्चारमाध्यममा आएको थियो ।
समाचार अनुसार ३९ वर्षीय केवु सुएलिन नामक व्यक्ति देख्दा ठ्याक्कै ज्याक माजस्तै देखिन्छन् । कतिपय मानिस उनलाई असली ज्याक मा भनेर झुक्किने गर्छन् । सुएलिनको लोकप्रियता चीनमा निकै बढेको छ । यसैका कारण उनको व्यापारमा दोब्बर वृद्धि भएको छ । सुएलिनसँग भेट्न मानिसहरू टाढा–टाढाबाट उनको सहरमा आउने गरेका छन् ।
यस्तै, भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनुहार मिलेका कारण एक जना पानीपुरी व्यापारीको व्यापार निकै फस्टाइरहेको छ । उनी दुरुस्तै प्रधानमन्त्री मोदी जस्तै देखिन्छन् । त्यसमाथि उनले आफ्नो दारी, कपाल र पहिरन पनि मोदीकै जस्तो बनाएका छन् । पसलमा आउने नयाँ मानिसहरू उनलाई देखेर झुक्किन्छन् ।
कतै पढेको थिएँ, संसारमा मिल्दाजुल्दा अनुहार भएका मानिस सात जनासम्म भेटिन्छन् रे ! तर तिनमा पनि केही न केही भिन्नता अवश्य हुन्छ । उस्तै–उस्तै लागे पनि ती सम्पूर्ण रूपमा उस्तै हुँदैनन् । अनुहार, शारीरिक बनावट, रङ, बोलीचाली, आनिबानी र स्वभाव आदिबाट मानिसबीच समानता खोज्ने गरिन्छ । विशेषगरी अनुहारमा देखिने समानता चाँडो मानिसहरूको स्मरणमा रहने गर्छ । त्यसैले कुनै अपरिचित मानिसलाई देख्दा हामी उसलाई आफूले पहिला देखिरहेको वा चिनिरहेको पात्रमा आरोपित गर्न खोज्छौँ ।
साहित्यकार स्वर्गीय गोरखबहादुर सिंहले यस्तै मिल्दोजुल्दो अनुहारबाट उत्पन्न एउटी युवतीको मनोद्वेगलाई लिएर एउटा कथा लेखेका छन्– ‘उडानभरको चिठी’ । स्वर्गीय पतिको अनुहारसँग मिल्लोजुल्दो पुरुषलाई देखेपछि उनीमा उत्पन्न मनोदशाको वरिपरि नै कथा घुमेको छ । कथा निकै सुन्दर र मार्मिक छ ।
धेरैजसो अनुहार मिल्ने एकै परिवारका मानिस हुन्छन् । एकै बाबुआमाबाट जन्मिएका सन्तानमा धेरै हदसम्म समानता पाइन्छ । त्यसमा पनि अझ बढी समानता जुम्ल्याहामा हुन्छ । बाटोघाटोमा हिँड्दा कहिलेकाहीँ चिनिरहेको मान्छे जस्तो लागेर हात उठायो, नमस्कार ग¥यो । नजिकै जाँदा त अर्कै मान्छे पो भइदिन्छ । भरे लज्जित अनुहार बनाएर ‘सरी म त…’ भन्नुपर्ने अवस्था पनि आउँछ । यस्ता घटना हाम्रो जीवनमा घटिरहेका हुन्छन् ।
हाम्रो समाजमा हुबहु अनुहार मिल्ने मानिस पनि थुप्रै भेटिन्छन् । जसको पहिचान गर्न निकै कठिन हुन्छ । ती विशेषगरी, जुुम्ल्याहा दाजुभाइ–दिदीबहिनी वा एकै बाबुआमाबाट फरक समयमा जन्मिएका सन्तान हुनेगर्छन् । यस्ता कतिपय व्यक्तिलाई परिवारमै पनि पहिचान गर्न गाह्रो हुन्छ । त्यसैले सूक्ष्म संकेतहरूद्वारा उनीहरूलाई पहिचान गर्ने आधार बनाइएको हुन्छ । देखिरहेकाहरूले समयक्रममा उनीहरूलाई पहिचान गर्न सक्छन् । तर यदाकदा देख्ने मानिसहरू भने अक्सर झुक्किने गर्छन् ।
मानिसले एउटा भन्ठानेर अर्कोसँग परिचितको व्यवहार गरिरहेको हुन्छ । समान नाम वा अनुहारका कारण कहिलेकाहीँ एउटाका नाममा अर्कोले सम्मान थापिरहेको हुन्छ भने कहिलेकाहीँ एउटाको गल्तीमा अर्कोले गाली पनि खाइरहेको हुन्छ । कतिपय भारतीय चलचित्रहरूमा डबल रोल भएका पात्रहरूका कारण उनीहरूका आफन्तसमेत झुक्यानमा परेका घटना देखाइने गरेको पाइन्छ ।
ती त कथा हुन् । तर वास्तविक जीवनमै पनि खोजी पस्ने हो भने समाजमा समान नाम वा अनुहारका कारण मानिस झुक्किने गरेका घटना धेरै पाइन्छन् ।
बर्दिया बानियाभारका जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मणलाई उनीहरूकै श्रीमतीले पनि चिन्न नसकेपछि पहिचानका लागि एउटाको कानमा मुन्द्रा लगाइदिनुपरेको थियो रे !
…
कोहलपुरका सूर्य ढकाल र महानन्द ढकाल सहोदर दाजुभाइ हुन् । सूर्य दाइ हुन् भने महानन्द भाइ । सूर्य राजनीतिक व्यक्तित्व हुन् भने महानन्द साहित्यक । महानन्द ढकाल बर्दियामा शिक्षण पेसामा छन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पनि हुन् । सूर्य भने बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । उनीहरूका कर्म फरक छन् ।
सम्पर्कका दायरा फरक छन् । र, फरक छन् आनीबानी र स्वभाव पनि । तर उनीहरूको शारीरिक बनावट र अनुहारमा धेरै हदसम्म समानता छ । यही समानताले फरक–फरक क्षेत्रमा लागिरहेका दाजुभाइलाई कहिलेकाहीँ अप्ठेरो÷सप्ठेरो व्यहोर्नुपरेको छ । कतिपय मानिसहरू उनीहरूका अनुहारले झुक्किने गरेका छन् ।
‘बारम्बार भेट हुने र नजिकको सम्बन्ध भएकाहरूले त पहिचान गर्छन्,’ महानन्द भन्छन्, ‘तर कहिलेकाहीँ देख्नेहरू चाहिँ झुक्किने गरेका छन् ।’ यदाकदा यस्ता घटनाहरू हुने गरेको उनी बताउँछन् ।
…
हालसालैको कुनै एक दिन महानन्द ढकाल, यो पंक्तिकार र रेडियो मिसनका स्टेशन मेनेजर बिपी अधिकारी कोहलपुरको सडकमा हिँड्दै थियौँ । एक जना व्यक्तिले महानन्दलाई देख्नेबित्तिकै नमस्कार गरे । ‘हिजोआज यतै हुनुहुन्छ ?’ ती व्यक्तिले दुई हात जोड्दै भने । महानन्दले दुई हात जोड्दै अन्यमनस्क भावमा स्वीकृतिसूचक टाउको हल्लाए ।
यत्तिकैमा ती व्यक्तिलाई नमस्कार गर्दै अर्का अपरिचित (हाम्रा लागि) व्यक्ति हाम्रो समूहमा आए । उनले हामीलाई खासै ध्यान दिएका थिएनन् । त्यसैले ती व्यक्ति असहज लागेछ क्यारे, ती व्यक्तिले भने– ‘तपाईंले चिन्नुभएन, माननीयज्यूलाई ?’ उनले महानन्दलाई माननीय भन्दै अर्का व्यक्तिसँग परिचय गराइरहेका थिए । नामै नलिए पनि उनी महानन्दलाई बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल ठानेर अर्का व्यक्तिसँग परिचय गराइरहेको बुझ्न सकिन्थ्यो ।
जो स्वयम्ले चिन्न सकिरहेको थिएन, उसैले अर्कोलाई चिनाइरहेको थियो, माननीय भनेर ! हामी सबै जना हाँस्न थाल्यौँ । एकछिनको हाँसोपछि मैले भनेँ– ‘हो तपाईंले ठीक भन्नुभयो । उहाँ माननीय त माननीय नै हो । तर तपाईंले ठानेको राजनीतिको माननीय सांसद सूर्य ढकाल नभएर उहाँकै भाइ साहित्यको माननीय अर्थात नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ महानन्द ढकाल हो ।’
ढकालबन्धुको अनुहार र कदकाठीको समानताका कारण ती व्यक्ति झुक्यानमा परेका थिए । त्यसपछि उनी लज्जित भएर ‘ए सरी म त…’ भन्दै त्यहाँबाट हिँडे ।
‘उनी त अलि टाढाका थिए र उनले पहिचान गर्र्न नसक्नु स्वाभाविक थियो,’ महानन्दले भने, ‘तर देखिरहेका परिवारभित्रैका मानिस पनि कहिलेकाहीँ झुक्किँदारहेछन् ।’ महानन्दलाई हालसालै यस्तै घटना आइप¥यो ।
हालसालैको कुनै एक दिनको कुरा हो, कोहलपुरमा शिक्षक भेषराज गैरेकी छोरीको विवाह थियो । महानन्द पनि त्यहाँ निम्त्याइएका थिए । बर्दिया र बाँकेका थुपैै्र निम्तालु विवाहमा आएका थिए । महानन्द अलि ढिलो गरी विवाहमा पुगे । उनी पुग्दा एमाले बाँसगढी नगर कमिटीका अध्यक्ष तथा पूर्वशिक्षक सुन्दर ढकाल निस्किँदै रहेछन् ।
महानन्दलाई देख्नेबित्तिकै उनी रोकिए । ‘जे होस् मेरो भाइले एमालेको नाम राखेको छ, सांसद मन्त्री हुनेबित्तिकै अरू महँगा–महँगा गाडी चढ्छन्,’ आफूलाई अँगालो हाल्दै सुन्दरले भनेका कुरा उद्धृत गर्दै महानन्दले भने, ‘सांसद भएर पनि मेरो भाइ अझै उही पुरानो मोटरसाइकल चढेर हिँडिरहेको छ, खुसी लाग्छ ।’
सुन्दर झुक्किएका थिए । उनी महानन्द र सूर्यका पारिवारिक मान्छे थिए । तर यतिबेला भने उनी पनि उनीहरूको पहिचान गर्न सकिरहेका थिएनन् । महानन्दलाई सूर्य ठानेर उनी त्यसो भनिरहेका थिए । महानन्द चुपचाप मुस्कुराइरहे । तर सुन्दर यतिमै रोकिएनन् । ‘मेरो हात समाउँदै विवाहमा आमन्त्रित पाहुनाहरूका माझमा लगेर उनी मेरो परिचय पो दिन थाले,’ महानन्दले सुन्दरका भनाइ उद्धृत गर्दै भने– ‘तपाईंहरूले चिन्नुभएको छ ? यो मेरो भाइ सूर्य ढकाल । एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर १ को सांसद । ऊ आज पनि थोत्रो मोटरसाइकल चढेर हिँडिरहेको छ…।’
त्यहाँ अरूले उनको कुरामा ध्यान दिएनन् वा उनीहरूले पनि पहिचान गर्न सकेनन् कुन्नि तर कसैले पनि उनको कुराको प्रतिवाद गरेनन् । महानन्दले भने, ‘म पनि मुसुमुसु हाँस्दै चुपचाप उनका कुरा सुनिरहेँ ।’ एकछिनपछि जसोतसो महानन्द उनीबाट फुत्किए ।
‘दाइका यस्ता थुप्रै नमस्कार र प्रशंसा मैले फोकटमा पाएको छु,’ चिया पिउँदै गर्दा महानन्द ढकालले मुसुक्क हाँस्दै भने, ‘कतिपय अवस्थामा दाइलाई गरिएका गाली र गुनासा पनि मैले सुन्नुपरेको छ ।’
उनले अर्को एउटा यस्तै घटनाको स्मरण गरे । उनका अनुसार माओवादी सशस्त्र द्वन्द्व उचाइमा पुगेको बेला थियो त्यो । माओवादीले अन्य दलका नेता–कार्यकर्तालाई तारो बनाइरहेका थिए । त्यहीबेला सूर्य ढकालले माओवादीविरुद्ध स्थानीय एउटा एफएममा सनसनी अन्तर्वार्ता दिए । यो अन्तर्वार्ता महानन्दले पनि सुनेका थिए । दाइको यस्तो अन्तर्वार्ता सुनेर महानन्दका मनमा डर पलायो ।
कतै माओवादीले दाइ ठानेर आफैँलाई निशाना बनाउने त हैनन् ! उनले सोचे । उनले घर आएपछि दाइसँग असन्तुष्टि पोखे । ‘यस्ता चर्काचर्का कुरा सार्वजनिक ठाउँमा किन गर्नुपरेको छ ? तपाईं त भाषण गरेर काठमाडौँतिर गइहाल्नुहुन्छ,’ महानन्दले दाइलाई भनेको कुरा स्मरण गर्दै भने, ‘तपाईंका कारण अनाहकमा मैले कुटाइ खानुप¥यो भने… ?’ धन्न उनलाई माओवादीको कुनै आक्रमण सहनु परेन ।
उनले अझ अर्को रोचक घटनाको स्मरण गरे । गएको संसदीय चुनावका बेला हो । सूर्य ढकाल एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का उम्मेदवार थिए । निर्वाचनको दिन नजिकिँदै गर्दा सूर्यलाई आफ्नो ठाउँमा आइदिन कार्यकर्ता र शुभेच्छुकले दबाब दिइरहेका थिए । स्वाभाविक हो, चुनावका बेला आम मतदाताले उम्मेदवारको प्रत्यक्ष उपस्थितिको चाहना राख्छन् । तर सूर्य ढकाल भने सबै ठाउँमा पुग्न सकिरहेका
थिएनन् ।
त्यसपछि एमालेका केही कार्यकर्ताले महानन्दलाई सूर्य ढकाल बनाएर सूर्य पुग्न नसकेका ठाउँमा पु¥याउने योजना बनाए । केही सङ्कोची र लजालु स्वभावका महानन्द पहिला त हच्के । ‘तपाईं हामीसँगै हिँड्नुस् तर बोल्न चाहिँ केही नबोल्नुहोला, दुई हात जोडेर ‘हुन्छ, हस्’ मात्र भन्नुहोला,’ एमाले कार्यकर्ताहरूले उनलाई सिकाए, ‘अरू सबै कुरा हामी मिलाउँछौँ ।’ उनले पनि त्यसै गरे । धन्न यसपालि पनि उनको कसैले पहिचान गर्न सकेन । ठीक यही अवस्था केही वर्षअघि बुटवलमा भएको युवा संघको चुनावताका पनि आएको उनले सम्झे ।
सानैमा एकपटक सूर्यले गाउँकै एक जना बूढीआमैसँग उधारोमा केरा खाएछन् । सूर्यले आफूले उधारो खाएको बिर्से । लामो समय पैसा तिर्ने नामै लिएनन् । त्यसपछि ती बूढीआमै पैसा लिन घरमै आइछन् । घरमा आएर महानन्दसँग ‘बाबू तिमीले त बिस्र्र्यौ कि क्या हो ! केरा खाएको पैसा तिर्नुपर्दैन ?’ उनले भनिछन् । महानन्द ट्वाँ परेछन् । ‘कस्तो केरा ? कसले खाएको ? कहिले खाएको ?’ महानन्दले उल्टै प्रतिप्रश्न गरेछन् । ‘हेर न आफैँले केरा खाएर पनि अझ कहिले र कस्तो भनेर टार्न खोज्ने !’ ती महिलाले भनिछन् । ‘मैले केरा खाएकै छैन कहाँबाट पैसा दिने ?’ महानन्द पनि जिद्दी गर्न थालेछन् । अन्ततः ती महिलाले आमासँग उजुरी गरिछन् । आमाले पनि उल्टै महानन्दलाई हकार्नु भएछ । पछि बुझ्दै जाँदा केरा त सूर्यले पो खाएका रहेछन् ।
आमाले केराको पाँच रुपैयाँ ती महिलालाई दिँदै भन्नुभएछ– ‘यसले होइन, यसको दाइले होला । उस्तै छन् ।’ ती महिला गएपछि आमाले महानन्दसँग भन्नुभएछ– ‘जहाँ पायो त्यहाँ जो पायो त्यहीसँग यसरी उधारो खाँदै हिँड्नहुन्न बुझिस् ।’
महानन्दसँग यस्ता स्मरण थुप्रै छन् जुन दाजुसँग अनुहार मिलेका कारण घटेका छन् ।
सांसद सूर्यसँग पनि यस्ता अनेकौँ घटनाका स्मरणहरू छन्, जो भाइसँग अनुहार मिलेका कारण घटेका हुन् । साहित्यिक क्षेत्रका मानिसहरू बढी झुक्किएर आफूलाई महानन्द ठान्ने गरेको सूर्यको अनुभव छ ।
‘मलाई देखेर मान्छेहरू सोध्छन्– ‘तपाईंको बुह्रान पढेँ । राम्रो लाग्यो । अब अर्को के लेख्दै हुनुहुन्छ ।’ अनि मेरो बारेमा मैसँग सोध्छन्– ‘अचेल दाइ कता हुनुहुन्छ ? भेट नभएको पनि धेरै भयो ।’ सांसद सूर्य हाँस्दै भन्छन् ।
आफ्ना बारेका मान्छेका गुनासा भाइमार्फत सुन्ने गरेको उनले बताए । ‘मेरा कतिपय कमजोरीहरूका गुनासा ऊमार्फत सुन्न पाउँछु,’ सूर्य भन्छन्, ‘म भन्ठानेर उनीहरू भाइसँग गुनासो गर्दारहेछन्् ।’ भाइसँग अनुहार मिलेका कारण आफूलाई भन्दा भाइलाई नै बढी अप्ठेरो परेको हुनसक्ने उनको बुझाइ छ ।
…
अनुहार मिलेकै कारण समाजमा अरू पनि यस्ता रोचक घटना पाइन्छन् । अनुहार त होइन आवाज मिलेका कारण यो पंक्तिकार पनि एक पटक नराम्रोसँग झुक्किएको छ ।
२०५६–५७ सालताकाको कुरा हो । भोटाहिटीमा रहेको विद्यार्थी पुस्तक पसलमा प्रायः म आउजाउ गरिरहन्थेँ । पसलका सञ्चालक बाबुराम गौतम र त्यहाँ काम गर्ने बाँकेका एक जना अर्का साथी मेरा चिनारु थिए । उनीहरूसँग गफिनका लागि पनि म त्यो बाटो हिँड्दा पस्ने गर्थें । एक दिन त्यही बाटो हिँड्दै थिएँ, सोचेँ– यसो पसेर जाउँ ।
पसलमा एक जना ग्राहक ठूलो–ठूलो स्वरमा पसलेसँग वादविवाद गरिरहेका थिए । उनी काउन्टरतिर फर्केर मेरा तिनै चिनारु साथीसँग बाझिरहेका थिए । म नजिकै पुगेपछि उनको स्वर कताकता सुनेजस्तो लाग्यो । एकछिन बाहिरै अडिएर उनको आवाज सुनेँ । उनी पसलका साथीलाई ¥याख¥याख पारिरहेका थिए ।
मैले उनको आवाज पहिचान गरेँ । यी त मेरा मामा पर्ने विष्णु अकेला पो हुन् ! मलाई लाग्यो– किन बूढा यसरी तातिरहेका छन् ! मैले उनको अनुहार देखेको थिइनँ । पछाडिबाट मात्र देखेको थिएँ । पछाडिबाट हेर्दा शारीरिक बनावट पनि दुरुस्त अकेलाकै थियो । उनले त आफ्नो पछाडि उभिएको मलाई देख्ने कुरै भएन ।
मैले विष्णु अकेला हुन् भन्ने ढुक्क भएपछि पछाडिबाटै भने– ‘मामाश्री नमस्कार ! किन यसरी तातिरहनुभएको छ ?’ म पनि अलि चर्कै स्वरमा बोलेको थिएँ । मेरो आवाज सुनेर उनी हठात् पछाडि फर्किए । जब मैले उनको अनुहार देखेँ म त लाजले पानीपानी भएँ । कारण ती विष्णु अकेला थिएनन् । उनी मैले कहिल्यै नदेखेका व्यक्ति थिए । कालाकाला मधेसी वा भारतीय मूलका जस्ता लाग्ने व्यक्ति थिए । तर उनी प्रस्ट नेपालीमा बोलिरहेका थिए ।
‘ए सरी…!’ मैले सम्हालिँदै भनेँ, ‘म त मेरा मामाजी जस्तो लागेर…। हजुरको आवाज र शारीरिक बनावट त ठ्याक्कै मेरा मामाको जस्तै रहेछ । त्यसैले म झुक्किएँ, सरी…।’
ती व्यक्ति कालोनीलो भए । बोल्नै सकेनन् ।
मबाट त त्यहाँ आगोमा ध्यू थप्ने काम पो भएछ ।
त्यहाँ पहिला भएको के रहेछ भने, उनले पसलमा आएर आफूले किन्न चाहेको लेखकको पुस्तक छ कि भनेर सोधेछन् । पसलका मित्रले उनलाई ‘ओ तो नहीँ है दुसरे राइटरका लेंगे तो है’ भन्दै हिन्दीमा जबाफ दिएछन् । ‘खै देखाउनोस् त कसको छ ?’ उनले फेरि नेपालीमै सोधेछन् । ती मित्रले फेरि पनि हिन्दीमै जबाफ फर्काएछन् ।
आफूले स्पष्ट नेपालीमा सोधिरहेको छ । पसलेले हिन्दीमा जबाफ फर्काइरहँदा उनलाई पनि झोँक चलेछ र पसलेसँग बाझ्न थालेका रहेछन् ।
म उनको आवाज र शारीरिक बनावटले झुक्किएझैँ पसलका मित्र पनि उनको अनुहारले झुक्किएका रहेछन् । पसले साथी पनि उनको आवाजमा भन्दा उनको अनुहारमा केन्द्रित भएर मधेसी वा भारतीय नागरिक हुन् भन्ने लागेर पटकपटक हिन्दीमै जबाफ फर्काउँदा रहेछन् ।
त्यहीबेला नमस्कार गर्दै म पुगेछु । परेन फसाद !
पछि उनलाई थामथुम पार्नै गाह्रो प¥यो ।
हामी दुवैले माफी मागेपछि बल्लबल्ल उनले हामीलाई माफ गरे ।
उनीसँग परिचय भयो । उनी समथिङ ?! शिवाकोटी रहेछन् (नाम अहिले बिर्सिएँ) । उनको घर झापातिर रहेछ । पूर्वी पहाडबाट झरेका रहेछन् ।
बिचरा उनी यसअघि पनि पटक–पटक आफ्नो अनुहारका कारण झुक्किनेहरूबाट दिक्दार भएका रहेछन् !
…
यस्तै, बाँकेको अर्को एउटा घटना छ । रझेनामा जुम्ल्याहा थारू दाजुभाइ छन्, राम र लक्ष्मण । उनीहरूको अनुहार, शारीरिक बनावटदेखि बोलीचालीसम्म धेरै कुरा मिल्छ । गाउँकै मानिसले पनि हत्तपत्त उनीहरूको पहिचान गर्न सक्दैनन् । ‘हामीलाई धेरैले कुन राम हो कुन लक्ष्मण भनेर चिन्दैनन्,’ जुम्ल्याहामध्येका जेठा राम भन्छन्, ‘यसको फाइदा कहिलेकाहीँ हामीलाई भएको छ ।’
उनले अनुहारको समानताका कारण घटेको एउटा रोचक घटना सुनाए । ‘हाम्रो परिवार गरिब थियो । त्यसैले म गाउँकै एउटा घरमा कमैया बसेको थिएँ । दिनभरि घरको काम गर्थें । बेलुकी खाना खाएर सुत्न म आफ्नै घरमा फर्किंन्थँे । तर भाइको भने कुनै काम थिएन । दिनभरि ऊ घरमै हुन्थ्यो । काम नभएपछि ऊ भोकै हुन्थ्यो । एक दिन मैले जुक्ति लगाएँ । म घर फर्किएको केही समयपछि भाइलाई मालिककोमा खाना खान पठाएँ ।
‘जा तँ गएर मालिककोमा फेरि भोक लाग्यो भनेर भात मागेर खा,’ उनले भाइलाई अह्राएको सम्झे, ‘म राम हुँ भन्नु, अघि खाएको भात त एकैछिनमा हजम भयो, फेरि भात देऊ खान्छु भन्नु ।’ भाइ लक्ष्मणले दाजुले भनेझैँ गरे । मालिक्नीले घुरेर उसलाई हेरिन् । ‘अघि भर्खरै खाएर गएको होइन ?’ मालिक्नीले भनिन्, ‘फेरि कति चाँडो भोक लागेको त तँलाई !’
मालिक्नीले फत्फताउँदै भात दिइन् । लक्ष्मणले चुपचाप भात खाए । ‘कहिलेकाहीँ दाइको मल्कानघर गएर यसरी नै मैले पनि भात खाएँ,’ लक्ष्मणले भने ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटना हरेकको जीवनमा र हेरक समाजमा घटिरहेका हुन्छन् । कल्पना गर्नुस् त अनुहार, शारीरिक बनावट वा आनीबानी मिलेकै कारण श्रीमान्–श्रीमतीहरू झुक्किएका घटना कति होलान् !









प्रतिक्रिया दिनुहोस्