नेपालगन्ज ।
तथ्यांक विभागले कृषि जनगणना–२०७८ सार्वजनिक गरेको छ । जसमा देशभरका कृषक र उनीहरूले पाल्ने पशुचौपायाको तथ्यांक सार्वजनिक गरिएको छ । बाँके जिल्लामा पशुचौपाया पाल्ने कृषकको संख्या उल्लेख्य छ । जसमा मलखाद, दूग्ध उत्पादन तथा मासुका लागि पशुचौपायाको पाल्ने गरिएको पाइन्छ ।
बाँकेमा पशुचौपाया पाल्ने कृषकको संख्या र पालिएका पशुचौपायाको अवस्था कस्तो छ, मिसन टुडेले पालिकाअनुसार त्यसको लेखाजोखा गर्ने प्रयास गरेको छ । कृृषि गणनाको तथ्यांक अनुसार बाँकेमा राँगाभैँसी पाल्ने किसान धेरै देखिएका छन् भने गाईगोरु पाल्ने कम रहेका छन् ।
बाँकेमा ४८ हजार ८ सय १८ पशुचौपाया पाल्ने कृषक छन् । ती कृषकले ५३ हजार ६ सय ४७ राँगाभैँसी पालेका छन् भने ३१ हजार ९ सय ४१ वटा गाईगोरु पालिएका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा धेरै पशुचौपाया पाल्ने कृषकहरू रहेको तथ्यांक सार्वजनिक भएको छ । उक्त पालिकामा ९ हजार ४ सय ९० पशुचौपाया पाल्ने कृषक छन् जसले १० हजार ६ सय ६५ वटा राँगाभैँसी पाल्ने गरेका छन् भने ७ हजार एक सय गाईगोरु पालिएका छन् ।
त्यस्तै, कोहलपुर नगरपालिकामा २ हजार ७ सय ६५ वटा गाईगोरु पालन गरिएको छ । तर कोहलपुरका किसानले पालेका राँगाभैँसीको तथ्यांक भने त्यसको करिब दोब्बर ४ हजार ६ सय ३० रहेको छ ।
कोहलपुरमा पशुचौपाया पाल्ने कृषक परिवारको संख्या ५ हजार २ सय ३ छ । बैजनाथ गाउँपालिकामा भने राँगाभैँसीभन्दा गाईगोरु पाल्ने कृषकको संख्या थोरै बढी देखिएको छ । यहाँ ६ हजार २ सय ९९ गाईगोरु पाल्ने गरिएकोमा राँगाभैँसीको संख्या ६ हजार २ सय १७ रहेको छ ।
खजुरा गाउँपालिकामा कृषकहरूले पालेका गाईगोरुको संख्या ४ हजार १ सय ४३ छ तर राँगाभैँसीकोे संख्या भने ४ हजार ४ सय ६४ छ । त्यसैगरी जानकी गाउँपालिकामा पालिएका गाईगोरु र राँगाभैँसीको संख्यामा करिब दोब्बरको फरक देखिएको छ । तथ्यांकअनुसार यहाँ ३ हजार ६ सय ९७ गाईगोरु पाल्ने गरिएको छ भने राँगाभैँसीको संख्या ७ हजार ३ सय ३२ रहेको छ ।
त्यस्तै, नेपालगन्ज उपमहानगरपालिकामा पालिएका गाईगोरु र राँगाभैँसीको संख्यामा पनि निकै ठूलो अन्तर देखिएको छ । यहाँ २ हजार ९ सय ५ गाईगोरु पाल्ने गरिएकोमा राँगाभैसीको संख्या ६ हजार ५ सय ६९ रहेको छ ।
त्यस्तै अवस्था डुडुवा गाउँपालिकाको पनि छ । यहाँ पनि गाईगोरु पाल्नेभन्दा राँगाभैँसी पाल्ने किसान नै बढी देखिएका छन् । डुडुवामा २ हजार २ सय ७ गाईगोरु पाल्ने गरिकोमा राँगाभैसी भने त्योभन्दा करिब तेब्बर संख्याले बढी पालिएको तथ्यांकले देखाएको छ । यहाँ ८ हजार ४ सय ५७ वटा राँगाभैँसी पालिएको छ ।
नरैनापुर गाउँपालिकामा कृषकहरूले २ हजार ९ सय १६ वटा गाईगोरु पालेका छन् भने ५ हजार २ सय २० वटा राँगाभैँसी पालेको तथ्यांक छ । दुग्ध कृषक संघ बाँकेका अध्यक्ष दीपक भण्डारीका अनुसार व्यावसायिक दृष्टिकोण र दूध उत्पादनका कारण पनि भैँसीपालन बढेको हुन सक्ने बताए । उनले भने, ‘मैले नै दश वर्ष अघि ६० वटा गाईपालन गरेँ तर त्यसमा खासै प्रगति भएन ।’
बजारको मागअनुसार भैँसीको दूध धेरै बिक्री हुने भएका कारण भैँसीपालन बढेको हुन सक्ने उनले बताए । गाईगोरु पालन मलखाद र दूग्ध उत्पादनमा मात्र सीमित हुने तर राँगाभैँसी पालनबाट मासुजन्य उत्पादनमा पनि टेवा पुग्ने भएकाले राँगाभैँसीको संख्या बढेको हुनसक्ने जानकारहरू बताउँछन् । पछिल्लो समय बजारमा राँगाको मासु पनि अत्यधिक खपत हुनेगरेको पाइन्छ ।









प्रतिक्रिया दिनुहोस्