कोहलपुरमा बिहान विद्यालय सञ्चालन हुने



मिसन संवाददाता
कोहलपुर
कोहलपुर नगरपालिका आजदेखि बिहानको समयमा विद्यालय सञ्चालन हुने भएका छन् । गर्मीका कारण बन्द गरिएका विद्यालय आजदेखि बिहानको समयमा सञ्चालनमा आउने भएका हुन् ।
बाँकेमा केहीसाता यता अध्यधिक गर्मी बढेका कारण जेठ २० गतेसम्म विद्यालयमा पठनपाठन बन्द गरिएको थियो । तर सरोकारवालाहरुको राय सुझावका आधारमा बिहानको समयमा विद्यालयमा पठनपाठन सुचारु गर्ने निर्णय गरिएको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

शाखा प्रमुख रामबहादुर हमालका अनुसार बिहानको समयमा विद्यालय सञ्चालन गर्न सकिने सरोकारवालाहरुको सुझावका आधारमा अर्को व्यवस्था नहुँदासम्मका लागि बिहानको समयमा पठनपाठन सुरु गर्नुे निर्णय गरिएको हो ।
शाखाको निर्णयअनुसार विद्यालयहरुले बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म विद्यालय सञ्चालन गर्नेछन् ।

यसमा १५ मिनेट समायोजन गर्न सकिने शाखाले उनले बताए । कक्षा ४ देखि १० सम्म अनिवार्यरुपमा नियमित कक्षा सञ्चाल गर्ने निर्णय भएको शाखा प्रमुख हमालको भनाइ छ ।
यस्तै पूर्वाधार सम्पन्न तथा वातानुकूलित व्यवस्थापन भएको विद्यालयले अभिभावकहरुसँग समन्वय गरी प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा ३ सम्म विद्यालय सञ्चालनको निर्णय लिन सकिने पनि शाखाले जनाएको छ ।

‘गर्मीका कारण विद्यालय बन्द गरियो । लामो समय विद्यालय बन्द हुँदा निर्धारित उद्देश्य पूर्ति हुने देखिएन । सम्पूर्ण सरोकारवालाहरुको सुझावका आधारमा बिहान विद्यालयमा पढाउने व्यवस्था गरिएको छ,’ हमालले भने । कोहलपुरमा रहेका सम्पूर्ण सहकारी, संस्थागत परम्परागत तथा गुठी विद्यालयहरु शाखाको निर्णय बमोजिम सञ्चालन हुनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ३१ गते बुधबार