कोहलपुर ।
कोहलपुरमा राष्ट्रिय स्तरको प्रथम कोहलपुर गोल्ड कप–२०७९ आयोजना हुने भएको छ । कोहलपुर रेसिंग साहारा क्लबको आयोजनामा यहाँ पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोजना आयोजना हुने भएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत मूल ब्यानर, लोगो, जर्सी र खेल तालिका कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले सार्वजनिक गरे ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले प्रतियोगिता कोहलपुरको गौरव भएको बताए । उनका अनुसार पहिलोपटक कोहलपुरमा आयोजना हुन लागेको प्रतियोगिता सम्पन्न गर्न स्थानीय सरकारले जस्तो सुकै सहयोग गर्न तयार छ । उक्त अवसरमा बोल्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले प्रतियोगितालाई शान्तरुपमा सम्पन्न गर्न कार्यालयको पूर्ण सहयोग रहने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष चक्र क्षेत्रीले आगामी चैत ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा दुई विदेशी क्लबसहित आठ क्लबको सहभागिता हुने छ । प्रतियोगितामा एएफसी क्लब क्यामरुन, भारतको साहारा क्लब र नेपालका हिमालय शेर्पा, कपिलवस्तु–११, संकटा क्लब, ब्वाइज युनियन क्लब काठमाडौं, नवलपरासी–११ र आयोजक रेसिंग साहारा क्लब सहभागी हुने छन् ।
प्रतियोगिताको खेल तालिकाअनुसार हरेक दिन एउटा मात्रै खेल हुने अध्यक्ष क्षेत्रीको भनाइ छ । ४ गते उद्घाटन खेल आयोजक रेसिंग साहारा क्लब र एएफसी क्लब क्यामरुनबीच हुनेछ । पहिलो चरणका खेलअन्तर्गत ५ गते भारतको साहारा क्लब र कपिलवस्तु–११, ६ गते हिमालय शेर्पा र नवलपरासी–११ र ७ गते संकटा क्लब र ब्वाइज युनियन क्लबबीच हुने खेल तालिका छ ।
उक्त अवसरमा कोहलपुर रेसिंग साहाराको ४ नम्बर जर्सी सार्वजनिक गरिएको थियो । प्रतियोगितामाको प्रथम हुने टिमले सात लाख र द्वितीय हुने टिमले तीन लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । पत्रकार सम्मेलनमा बोल्दै क्लबका सचिव नवकिरण शाहले प्रतियोगिताको ८० प्रतिशत तयारी सम्पन्न भइसकेको बताए । प्रतियोगिताको कूल लागत ८० लाख रुपैयाँभन्दा बढी छ ।








प्रतिक्रिया दिनुहोस्