डेंगु संक्रमणको जोखिममा बाढीपीडित



नेपालगन्ज (बाँके) । 

बाढीले घर डुबानमा परेपछि नेपालगन्ज–२० गायत्री टोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित
छन् । उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित छन् ।

उनलाई बाढीका कारण घर भत्किने हो की भन्ने चिन्तासँगै डेंगु संक्रमणको अर्काे चिन्ताले पिरोलेको छ । चिसो भुइँमा एउटा ओछ्याउन लगाउँछन्, अनि सुत्छन् । त्यसपछि लामखुट्टेले उनलाई सुत्नै दिँदैन । ‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ,’ उनी भन्छन्, ‘झुल नहुँदा लामखुट्टेले सुत्नै दिँदैन ।’

बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ । यतिबेला उनी पनि एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणको जोखिममा छिन् । ‘घरमा झुल थियो,’ उनले भनिन्, ‘बाढीले बगाइदिँदा ल्याउनै पाइन्ँ । अहिले लामखुट्टेका कारण हैरानी खेपेको छुँ ।’ उनीहरु मात्र होइन बाढीपीडित कमानसिंह ठकुरी, धनबहादुर तामाङ, कौशिला थापा र रञ्जिता थापासँगै बाढीका कारण विस्थापित भएकाहरु डेंगु संक्रमणको जोखिममा परेका छन् ।

नालासँगै जोडिएको शोभाको घर हेर्न लायक छैन । यतिबेला उनको घर डुबिसकेको छ । ‘घरबाट केही सामान ल्याउन पाइएन,’ उनी भन्छिन्, ‘यहाँ व्यवस्था पनि राम्रो छैन ।’ बिहानको खानलाई मात्र चामल र तरकारी भएको भन्दै उनले भनिन्, ‘साँझलाई चामल, तरकारी छैन ।’ बाढीपीडितहरु अहिले समस्यामा परेको उनी बताउँछिन् ।

यहाँ झुलसहित लामखुट्टे पाउने धुप भए सहज हुने बाढीपीडित कौशिलाले बताइन् । ‘झुलको व्यवस्था हुनुपर्छ,’ उनले भनिन्, ‘नत्र हामी सबै डेंगु संक्रमणको सिकार हुन्छौं ।’ लगातार भइरहेको वर्षाका कारण विद्युत्समेत अनियमित हुँदा थप समस्या झेल्नु परेको उनी बताउँछिन् । ‘बत्ती भएको भए त्यतिधेरै लामखुट्टे लाग्ने थिएनन्,’ उनी भन्छिन्, ‘बत्ती पनि हुँदैन । आफ्नो झुल बाढीले बगाइसक्यो । अरु कसैले सहयोग गरेका छैनन् ।’ बाढीपीडितहरु डेंगु संक्रमणको जोखिममा परेको भन्दै उनले तत्काल झुलको व्यवस्था हुनु पर्ने बताइन् ।

‘एकजना सुत्दा अर्काले लामखुट्टे भगाउँछौं,’ बाढीपीडित खुदिया कुसवन्दियाले भनिन्, ‘लामखुट्टेका कारण रातभरि सुत्नै पाइँदैन ।’ यतिबेला आश्रय लिएको विद्यालय प्रांगनमा खाल्डाखुल्डी भइ पानी जम्दा लामखुट्टे बढी देखिएको उनी बताउँछिन् । वडा तथा पालिका सरकारले तत्काल डेंगु संक्रमणबाट बचाउन झुल वितरण गर्नुपर्ने बाढीपीडितहरुको भनाइ छ । अहिले यहाँ करिब ३०/४० घर परिवार यहाँ आश्रित छन् ।

वृद्धवृद्धा बिरामी हुन थाले चिसोका कारण बाढीपीडित वृद्धवृद्धा र बालबालिकाहरु बिरामी हुन थालेका छन् । घरमा बाढी पसेपछि विद्यालयमा आश्रित वृद्धवृद्धा र बालबालिकाहरु बिरामी हुन थालेका हुन् ।

चिसो हुँदा वृद्धवृद्धा र बालबालिकालाई ज्वरोले सताउने थालेको छ । चिसोले ज्वरो आइ बिरामी भएको कमानसिंह ठकुरीले बताए । ‘चिसो भुइँमा सुत्नुपर्छ,’ उनले भने, ‘बुढो पनि भइयो, शरीरले चिसो पचाउन सक्दैन । त्यसैले पनि होला, ज्वरो आएर थलिएको छुँ ।’ न्यानो बसाइँ नहुनु र खानपिनको समस्याका कारण आफू बिरामी भएको धनबहादुर तामाङले बताए ।

‘ज्वरो बढ्दै गएको छ,’ उनले भने, ‘बाहिर पानी रोकिएको छैन । स्वास्थ्यपोचार गर्न कहाँ जानु ।’ साथै यहाँ रहेका सुत्केरी र गर्भवती महिलालाई समेत समस्या हुँदै आएको छ । यतिबेला चिसोबाट बच्नु पर्ने र पौष्टिक र झोलिलो खाने कुरा खानु पर्ने समयमा उनीहरु त्यसबाट वञ्चित भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज २४ गते सोमबार