बाँके ।
नेपालगन्ज उपमहानगगरपालिका–२ घरवारीटोलस्थित मिरज सुमार्टका सञ्चालक जेनिशा आचार्य (जैसी)ले व्यापारको सिजन छोप्न ऋणधन गरेर पसलमा सामान हालेकी थिइन् ।
तर, दुर्भाग्य गत भदौ ३१ गते राति उनको पसलमा विद्युत् सर्ट भएर आगलागी हुन पुग्यो । आगलागीबाट दसैंतिहारको सिजनमा बिक्रीका लागि राखिएका सबै सामान जलेर नष्ट भएका थिए ।
‘दसैंतिहारको सिजनका लागि सामान राखेकी थिएँ, आगलागीले सबै ध्वस्त बनायो,’ आचार्यले दुःखेसो पोख्दै भनिन्, ‘सबैथोक बर्बाद भयो ।’ उनका अनुसार आगलागीबाट करिब ५५ लाख बराबरका सामान नष्ट भएको छ । जुत्ता चप्पल र पसल डेकोरेसनका सामग्री कामै नलाग्ने अवस्थामा पुगेका छन् ।
आचार्यले पाँच वर्षदेखि यहाँ व्यवसाय गर्दै आएकी थिइन् । ‘ऋण गरेर व्यवसाय गर्दै आएको थिएँ । अहिले तनाव भएको छ,’ उनले भनिन्, ‘अब त्यो पैसा कसरी तिर्ने भन्ने तनाव छ ।’
प्रकाशित मिति : २०७९ असोज ५ गते बुधबार









प्रतिक्रिया दिनुहोस्