कोहलपुर ।
कोहलपुर नगरपालिकाद्वारा गठित विज्ञ समूहले प्रतिवेदन तयार गरेको छ । कोहलपुर नगरपालिकाको प्रशासनिक संरचना सुधारका लागि गठित विज्ञ समूहले आफ्नो अन्तिम प्रतिवेदन नगरपालिकालाई बुझाएको हो ।
कोहलपुर नगरपालिकाको जनशक्ति व्यवस्थापन र कार्यालय संगठन संरचना निर्माणका लागि गठित दुई सदस्यीय कार्यदलले भदौ ३० गते नगरप्रमुख पूर्णप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललाई प्रतिवेदन बुझाएको छ ।
अन्तिम प्रतिवेदन विज्ञ समूहका संयोजक शारदाप्रसाद त्रितालले बुझाए । कोहलपुर नगर कार्यपालिकाको साउन ११ गते बसेको बैठकले दुई सदस्यीय विज्ञ समूह गठन गरेको थियो ।
समूह गठन गर्ने निर्णय भएको करिब दुई महिनापछि नगरपालिकालाई समूहले प्रतिवेदन बुझाएको हो । समितिलाई १५ दिनको समयावधि दिइएको थियो । नगरपालिकाले निर्णय गरेपछि ढिलोगरी काम सुरु गरेको समितिले सुरुवातमा कोहलपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग छलफल गरेको थियो ।
त्यसपछि समूहले नगरपालिकास्थित सरोकारवालाहरुसँग पनि छलफल ग¥यो । समूहको संयोजकमा त्रितालसहित पूर्व प्रशासक गोकर्ण शर्मा सदस्य थिए । समूहले दिएको सुझावका आधारमा नगरपालिका अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताएका छन् ।
उनका अनुसार नगरपालिकाले सुझाव कार्यान्वयनका लागि नगरपालिका यथाशीघ्र अघि बढ्ने छ । ‘विज्ञ समूहले प्रतिवेदन बुझाएको छ । अब बैठकमा छलफल हुन्छ । प्रतिवेदन कार्यान्वयनमा जान्छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।









प्रतिक्रिया दिनुहोस्