हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज (मंगलबार) विभिन्न शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । शिव उत्पत्ति भएको रातका नामबाट नामाकरण भएको महाशिवरात्रि प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ ।
कालरात्रिी मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रिलाई पुराणमा वर्णन गरिएको छ । सम्पूर्ण दुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइन्छ ।
व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने आजको दिनलाई भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आजका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजाअर्चनाका मुख्य अंग मानिन्छन् ।
शिवरात्रि पर्वलाई पर्वको राजा पनि भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास रहिआएको छ । यस्तै आजको दिन बाँकेको बागेश्वरी मन्दिरलगायत देशभरिका शिवालयहरुमा दर्शनार्थीहरुको बिहानैदेखि घुइँचो लाग्छ । आजको दिन बागेश्वरी मन्दिरमा दर्शनार्थीले सहजैरुपमा मन्दिरभित्र प्रवेश गरेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
सोमबार नै बागेश्वरी मन्दिर परिसरमा रहेको जुंगेश्वर महादेवको मूर्ति र तलाउ झकिझकाउ पारिएको थियो । शिवरात्रिलाई व्यवस्थित र अनुशासितरुपमा मनाउन गाँजा, भाङ, धतुरको बिक्रीवितरणमा रोक लगाइएको बताइएको छ । यता महाशिवरात्रिमा हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यान राखेर उचित सुरक्षा मिलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बिहानैदेखि शिवालयहरुमा भक्तजनहरुको भीडभाड हुने भएकाले सोहीअनुसार नै प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए । ‘
बागेश्वरी मन्दिरमा बिहानैदेखि भीडभाड हुने भएकोले सोहीअनुसार नै सुरक्षा योजना बनाएका छौं,’ उनले भने, ‘चोरीलगायतका घटना हुन नदिन सादा पोसाकमा समेत प्रहरी परिचालन गर्छौं ।’ जिल्लाका अन्य शिव मन्दिरहरुमा समेत सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन भइसकेको उनले जनाए । सार्वजनिक स्थानमा गाँजा, भाङ, धतुरको बिक्रीवितरणमा रोकसमेत लगाइने डिएसपी न्यौपानेले बताए ।










प्रतिक्रिया दिनुहोस्