प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित दाङमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले राप्ती गाउँपालिका–१ स्थित भालुवाङ–प्यूठान सडक खण्डबाट प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जनालाई पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट पाँच थान प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
उनकाअनुसार पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को रामकुमार पुन मगर रहेका छन् ।
शक्रबार बेलुकी पक्राउ परेका उनीहरुले रेडपाण्डाको छाला हिमाली क्षेत्रबाट ल्याई अन्यत्र बिक्रीका लागि लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी काफ्लेले बताए ।
उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दाङमा बुझाइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्