अमेरिकामा बस्ने नेपालीको पहलमा रेडक्रस ठाकुरबाबालाई एम्बुलेन्स सहयोग



बर्दिया ।

युनाइटेड एड फाउण्डेसन न्युयोर्कले ठाकुरबाबामा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखालाई एम्बुलेन्स सहयोग गरेको छ ।

बाँसगढी घर भई अमेरिकामा रहेका युवा र ठाकुरबाबाका स्थानीय युवाहरुको पहलमा युनाइटेड एड फाउण्डेसन न्युयोर्कले रेडक्रसलाई एम्बुलेन्स सहयोग गरेको हो ।

बाँसगढी नगरपालिका–५ लक्ष्मणपुर घर भइ हाल अमेरिकामा बस्ने युनाइटेड एड फाउण्डेसनका प्रतिनिधि जितेन्द्र चौधरीको पहलमा नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखालाई एम्बुलेन्स प्रदान गरिएको थियो ।

ठाकुरबाबा–२ का युवा कैलाश थारु र कुमार खड्काले बाँसगढी घर भएर अमेरिकामा रहेका चौधरीसँग एम्बुलेन्सका लागि पहल गरेपछि न्युयोर्कमा रहेको युनाइटेड एड फाउण्डेसनसँगको समन्वयमा एम्बुलेन्स खरिदका लागि रकम सहयोग आएको थियो ।

ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखालाई एम्बुलेन्स खरिद गर्नका लागि अमेरिकाबाट १३ लाख ९४ हजार चार सय ७० रुपैयाँ सहयोग प्राप्त भएपछि एम्बुलेन्स खरिद गरिएको नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाका सभापति यज्ञ नेपालले जानकारी दिए ।

‘युनाइटेड एड फाउण्डेसन न्युयोर्कले नेपालमा हुने बाढी, पहिरो, भूकम्पजस्ता विपतका बेला सहयोग गर्दै आएको छ । साथीहरुले रेडक्रसमार्फत एम्बुलेन्स सञ्चालनका लागि आग्रह गर्नुभयो,’ अमेरिका बस्ने चौधरीले भने । ठाकुरबाबाका नगरप्रमुख घननारायण श्रेष्ठले एम्बुलेन्स नगरपालिकाको सम्पत्तिका रुपमा जोडिएको बताए ।

एम्बुलेन्स सहयोग गर्ने संस्था र प्रतिनिधिसहित एम्बुलेन्सका लागि पहल गर्ने स्थानीय युवालाई उनले धन्यवाद दिए । ठाकुरबाबा नगरपालिकामा यसअघि नयाँ ल्याइएका दुईवटा एम्बुलेन्स सञ्चालनमा छन् ।

रेडक्रसमार्फत सञ्चालन हुने एम्बुलेन्समा सुत्केरी, गर्भवतीसहित दुर्घटना तथा आकस्मिक बिरामीलाई सहुलियतमा सेवा दिने नेपाल रेडक्रस ठाकुरबाबा उपशाखा सभापति यज्ञ नेपालले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार