नेपालगन्जका एक युवकको अपहरण गरी बन्धक बनाइ निर्मम हत्या गरेर फरार भएका ११ वर्षपछि पक्राउ परेका छन् । धम्बोझीका २१ वर्षीय हिमाल बुढालाई अपहरण गरी कोहलपुरमा बन्धक बनाइ हत्या गरेको आरोपमा सौभाग्य मल्ल पक्राउ परेका हुन् ।
बुढाको हत्या भएको ११ वर्षपछि आरोपित मल्ल गोरखाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘हत्या लगत्तै भारतमा गएका रहेछन्, घुम्न गोरखा पुगेको बेला त्यहाँको प्रहरीले पक्राउ गरेको हो,’ उनले भने, ‘पक्राउ परेका मल्ललाई लिन हाम्रो टोली गोरखा गएको छ । त्यहाँबाट बाँके ल्याइँदैछ ।’
पक्राउ परेका मल्लसहितले २०६७ साल माघ ३ गते धम्बोझीबाट बुढाको अपहरण गरेर कोहलपुरको एउटा रित्तो घरमा बन्धक बनाएर परिवारलाई फिरौती रकम माग गरेका थिए । अपहरणकारीले ३५ लाख रुपैयाँ परिवारसँग फिरौती माग गरिरहेका बेला बुढाको हत्या गरिएको अवस्थामा शव कोहलपुरमा भेटिएको थियो ।
प्रहरी अनुसन्धानबाट पक्राउ परेका मल्लसहितका अपहरणकारीले पोल खुल्ने भएपछि बुढाको तारले घाँटी कसेर हत्या गरेका थिए । हत्यापछि आगोले पूरै अनुहार जलाइ मल्ल फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुधन न्यौपानेले जानकारी दिए ।
उक्त घटनामा संलग्नहरुमध्ये एकजनालाई जिल्ला अदालत बाँकेले २०६९ असार ६ गते कर्तव्य ज्यानमा जन्म कैद र अपहरणमा ९ वर्ष कैदसहित ५० हजार जरिवाना सजाय तोकेको थियो । उनी केही दिनअघि दैलेख कारागारबाट कैद भुक्तानी गरेर रिहासमेत भइसकेको डीएसपी न्यौपानेले बताए ।
घटनालगत्तै पक्राउ परेका अर्का एकजनालाई भने अदालतले सोबेला नै छोडेको बताइएको छ । गोरखामा पक्राउ परेका सौभाग्य मल्लको मुद्दा भने अदालतले मुलतबीमा राखेको छ । ‘घटना ११ वर्ष पुरानो भएकोले यसबारे खासै बुझ्न पाइएको छैन,’ डीएसपी न्यौपानेले भने, ‘हाम्रो टोली पक्राउ परेका मल्ललाई लिन गोरखा पुगिसकेको छ । मल्ललाई यहाँ ल्याएपछि अन्य को–को संग्लन थिए भन्ने खुल्ला ।’










प्रतिक्रिया दिनुहोस्