नेशनल प्याब्सन कोहलपुरद्धारा उत्कृष्ट शिक्षक÷शिक्षिका सम्मानित



कोहलपुर ः २४ औँ नेशनल प्याब्सन दिवसको अवसरमा बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालित संस्थागत विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको छ । नेशनल प्याब्सन कोहलपुर नगर समितिसंग आवद्ध विद्यालयका उत्कृष्ट शिक्षक÷शिक्षिकाहरुलाई सम्मान गरिएको हो ।


नेशनल प्याबसन कोहलपुर नगर समिति,बाँकेका सचिव अमृत प्रसाद पौडेलका अनुसार १८ विद्यालयका ३८ जना शिक्षक÷शिक्षिकाहरुलाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो । उनले १८ वटा विद्यालयले उत्कउष्ट छनौट गरेका शिक्षक÷शिक्षिकाहरुलाई स्थापना दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको जानकारी दिए । दिवसको अवसरमा ३४ जनालाई भौतिक उपस्थितिमै सम्मान गरिएको थियो ।अन्य चार जना शिक्षक र शिक्षिका भने अनुपस्थित रहेको र उनीहरुलाई विद्यालय मै प्रमाणपत्र दिइने उनको भनाइ छ ।
सम्मान कार्यक्रममा बोल्नै कोहलपुर नगर शिक्षा शाखाका प्रमुख रविलाल मिजारले सम्मानले शिक्षक शिक्षिकाहरुलाई प्रोत्साहन गर्ने बताए । उनका अनुसार दिवसको अवसरमा सम्मान गरिनु राम्रो सुरुवात समेत हो । संस्थागत विद्यालयमा काम गर्ने शिक्षक, शिक्षिकाहरुको हकहितका लागि नगर शिक्षा शाखा सधै तयार रहेको उनले बताए । संस्थागत विद्यालयको विकासको लागि नगरशिक्षाले वर्षेनी बजेट छुट्याउने गरेको पनि उनको भनाइ थियो ।

कोहलपुरलाई शिक्षा क्षेत्रको हब बनाउन आवश्यक रहेकोमा नगर शिक्षा शाखा प्रमुख मिजारले जोड दिए । यस्तै नेशनल प्याब्सनका केन्द्रीय सदस्य कुवेर बस्नेतले कोहलपुर क्षेत्रमा शिक्षा क्षेत्रको विकासका लागि संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । उनका अनुसार राज्यलाई आवश्यक दक्ष जनशक्ति उत्पादन संस्थागत विद्यालयको पहिचान हो । नेशनल प्याब्सनका लुम्बिनी प्रदेश सदस्य कमल पछाइले पनि राम्रो काम गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम नमुनायोग्य भएको बताएका थिए ।

नेशनल प्याब्सन कोहलपुर नगर समिति, बाँकेका अध्यक्ष बेग प्रकाश चन्दले निजी क्षेत्र मार्फत गुणस्तरीय शिक्षाको विकासको लागि महत्वपूर्ण भूमिका रहेको बताए । उनले बाँके तथा कोहलपुर क्षेत्रमा समेत संस्थागत विद्यालयको भूमिका अहम रहेको छ । ‘ लामो समयपछि दिवस मनाएका छौँ । दिवसको अवसरमा उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको छ,’ अध्यक्ष चन्दले भने,‘आगामी दिनमा समेत शिक्षक शिक्षिकाहरुको क्षमता विकासको लागि काम गर्ने छौँ । गुणस्तरीय शिक्षा हाम्रो एकमात्र लक्ष्य हो ।’

सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तव्य राख्दै नेशनल प्याब्सन कोहलपुर नगर समिति, बाँकेका सदस्य यसबी बुढाले स्वागत मन्तव्य राख्दै नगर शिक्षा शाखाले संस्थागत विद्यालयको विकासको लागि अभिभावकीय भूमिका खेलेको प्रति सम्मान प्रकट गरेका थिए । उनका अनुसार ओमिक्रोन त्रासका कारण विद्यालय बन्द गर्ने सरकारको निर्णय सही छैन । उक्त अवसरमा शिक्षक,शिक्षिका तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २८ गते बुधबार