पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइयो



नेपालगन्ज ।

मंगलबार पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस भव्यरुपले मनाइयो ।

हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो ।
शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ ।

लोकतन्त्रपछि सरकारले औपचारिकरुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिकरुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेशमार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिएको छ ।

मंगलबार बाँकेका नेपालगन्ज, कोहलपुरलगायत स्थानमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेर पृथ्वीजयन्ती मनाइएको छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको स्मरण गरिएको छ ।

मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छैन ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विभिन्न दल र नेताले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्दै आएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २८ गते बुधबार