दाङ ।
दाङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पोखरी बनाएर व्यावसायिकरूपमा माछापालनमा जोड दिन थालेपछि माछापालन फस्टाउँदै जान थालेको हो ।
लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन फस्टाएको छ । घोराही उपहानगरपालिका–५ धर्नालाई माछापालनको पकेट क्षेत्र घोषणा गरिएको छ । किसानलाई भेटेरेनरी अस्पताल र मत्स्य विकास केन्द्रले अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
दाङका बजारमा माग बढेसँगै माछापालनतर्फ आकर्षण बढ्दै गएको किसानको भनाइ छ । खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि माछापालनतर्फ कृषकको आर्कषण बढेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीका मत्स्य विकास अधिकृत महेन्द्र यादवले जानकारी दिए ।
माछापालनमा हालसम्म रु सात करोडभन्दा बढी लगानी भएको छ । दुई सय १७ परिवारले माछापालन व्यवसाय गर्दै आएका छन् । जिल्लामा ५०१ पोखरी तथा ३० तालमा माछापालन गरिँदै आएको छ । हाल १२५ हेक्टरमा माछापालन गरिएको छ ।
प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुरु भएसँगै माछापालक व्यवसायलाई प्रवद्र्धनका लागि अनुदान सहयोग हुन थालेपछि जिल्लामा माछापालन व्यवसाय बढ्दै गएको हो । दाङमा अहिले वर्षेनी करिब ६०० मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।
कार्प प्रजातिका माछामात्रै पालन हुने गरेको जिल्लामा अहिले पङ्गास प्रजातिका माछापालन हुन थालेसँगै उत्पादनमा वृद्धि भएको छ ।









प्रतिक्रिया दिनुहोस्