पर्यटकीयस्थलको नाममा मासिँदै परम्परागत माछापोखरी



कोहलपुर ।

नेपालगन्जमा रहेका १६ हेक्टरको पुरैनी ताल र ६ हेक्टरको वाटर पार्कलाई पर्यटकीयस्थल बनाइदैंछ । पहिले माछा उत्पादन हुँदै आएकोमा यी दुवै तालमा नेपालगन्ज उपमहानगरपालिकाले पर्यटकीयस्थल बनाउन लागेको हो ।

अहिले पुरैनी ताललाई लुम्बिनी प्रदेश सरकारको सहयोगमा पर्यटकीयस्थल बनाउने काम समेत सुरु भइसकेको छ । पुष्पलाल चोक नजिकै रहेको ६ हेक्टरको वाटर पार्कमा समेत पर्यटकीय संचरना बनिसकेका छन् । त्यहाँ पनि अहिले पर्यटकीयस्थल बनाउने काम जारी नै रहेको छ ।

यस्तै पश्चिमकै सबैभन्दा धेरै माछापालन हुने बढैया ताल प्राकृतिक जलाशयमा यस वर्षदेखि माछा उत्पादन बन्द गरिएको छ । बढैयाताल गाउँपालिकाले बढैयातालमा पर्यटकीयस्थल बनाइरहेको छ ।

गाउँपालिकाका सूचना अधिकारी कमल खड्काले पर्यटकीयस्थलका रूपमा बढैया ताललाई विस्तार गर्न लागिएको जानकारी दिए । उनका अनुसार, अब ‘शो’का रूपमा मात्र गाउँपालिकाले तालमा माछाको भुरा राख्नेछ । ‘पर्यटकीयस्थलका रूपमा यो ठाउँलाई परिचित गराउन जनप्रतिनिधि लाग्नुभएको छ,’ खड्काले भने ।

प्राकृतिक जलाशयमा नयाँ काम सुरु भएपछि चालू आर्थिक वर्षमा स्थानीय तहले माछापालनको ठेक्का दिएका छैनन् । ठेकेदारमार्फत ती प्राकृतिक जलाशयमा माछापालन हुँदै आएको थियो । पर्यटकीयस्थल बनाउँदा पनि माछापालन बन्द नगर्नु पर्ने जिल्ला पशु ज्ञान कार्यालय नेपालगन्जका वरिष्ठ मत्स्य विकास अधिकृत बसिर अहमद खाँ ले बताए । ‘दुवै काम साथसाथै लैजानु राम्रो हुन्छ,’ उनले भने, ‘प्राकृतिक तालमा माछा उत्पादन बन्द नै गर्ने हो भने आत्मनिर्भर बन्ने हाम्रो योजना तुहिन्छ ।’

बाँकेमा कुल ३४० हेक्टरमा वार्षिक एक हजार १९६ मेट्रिक टन माछा उत्पादन हुन्छ । माछापालन गरिँदै आएका ताललाई पर्यटकीयस्थल बनाउँदा माछापालन घट्दै गएकाले चालू आर्थिक वर्षबाट बाँके र बर्दियामा २५ प्रतिशत माछा उत्पादन घट्ने पशु ज्ञान कार्यालय बाँकेले जनाएको छ ।

सरकार र कृषकको परिश्रमपछि माछाको उत्पादन बढ्न थालेका बेला स्थानीय तहले पकेट क्षेत्रकै जलाशयमा माछा उत्पादन बन्द गरी पर्यटकीयस्थल बनाउन सुरु गरेको वरिष्ठ मत्स्य विकास अधिकृत खाँ ले बताए ।

सोही कारणले माछा उत्पादनमा समेत प्रभाव परेको र यस वर्षबाट २५ प्रतिशत जति माछा उत्पादन घट्ने उनले अनुमान गरे । बाँकेमा २५ हेक्टर रहेको प्राकृतिक जलाशयमा माछापालन हुँदै आएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ११ गते आइतबार