चिसोबाट बच्न चोकचोकमा दाउरा वितरण गर्दै कोहलपुर नगरपालिका



कोहलपुर : पश्चिम नेपालका बाँके र बर्दिया सहितका जिल्लामा चिसो बढ्दैछ । पुष महिना लागेसँगै विशेषगरी विहान र साँझको समयमा चिसो बढ्न थालिसकेको छ । पछिल्लो केहीदिनयता बाँक्लो हुस्सु र शीत लहर लाग्न थालिसकेको छ । चिसोयाममा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा आर्थिक रुपमा विपन्न नागरिक प्रभावित हुने गरेका छन् । दैनिक जसो बढ्दो चिसो र शीत लहरलाई मध्यनजर गर्दैै बाँकेको कोहलपुर नगरपालिकामा पूर्वतयारी थालिएको छ । सोमबार कोहलपुरमा नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर सम्भावित विपद्बाट जोगिने उपायका विषयमा सरोकारवाला बीच छलफल गरिएको हो ।


बैठकमा खासगरी चिसोको समयमा नगरबासीहरुलाई कसरी सुरिक्षत बनाउन सकिन्ने भन्ने विषय बृहत छलफल गरिएको थियो । बैठकमा कोहलपुरका सम्पूर्ण वडा, मानिसहरुको धेरै भीडभाड हुने क्षेत्रमा आगो बाल्नको लागि दाउरा वितरण गर्ने, चिसोबाट जोगिनको लागि सचेतना फैलाउने, चिसोको समयमा सडक दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरी परिचालन, नेपाल प्रहरीहरुको सक्रियता बढाउने र खोज तथा उद्धार कार्य गर्ने विषयमा सरोकारवालाले आफ्नो धारणा राखेका हुन् । उक्त बैठक मार्फत स्थानीय तह ता वडाले गर्नुपर्ने काम, सुरक्षा निकायले गर्ने काम तथा अन्य सरोकारवालाहरुले वहन गर्ने जिम्मेवारी समेत तोकिएको छ ।

नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले तीन वटा निर्णय समेत गरेको छ । कोहलपुर नगरपालिका विपद् तथा वातावरण शाखा प्रमुख पुरुषोतम पोखरेलका अनुसार बैठकले चिसोबाट शीत लहरबाट बच्न र बचाउनको लागि स्थानीय तहमा सेवा प्रवाह हुने क्षेत्र नगरपालिका सहित ईलाका प्रहरी कार्यालय, ईलाका प्रशासन कार्यालय, बसपार्क निर्वाचन आयोगको सम्पर्क कार्यालय, सडक क्षेत्रमा रहेका प्रहरी बिटहरु, वडा कार्यालय तथा विद्यालय लगायतका क्षेत्रमा आवश्यकता पहिचान गरेर नगरपालिकाको तर्फबाट दाउरा वितरण गर्ने निर्णय भएको छ । यस्तै नगर क्षेत्रभित्र रहेका अति जीर्ण घरपरिवार तथा व्यक्ति अपांगता भएका व्यक्तिहरु त्रिपाल वितरण गर्नुका साथै खाद्यन्न समेत वितरण गरिने प्रमुख पोखरेलको भनाइ छ ।
दाउरा, त्रिपाल र खाद्यन्न वितरण गर्न तथा आवश्यक व्यवस्थापनका लागि १५ वटै वडामा वडाअध्यक्षको नेतृत्वमा वडामा क्रियाशिल राजनीतिक दल सम्मिलित संयन्त्र निर्माण गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । यस्तै चिसो तथा शीत लहरलाई मध्यनजर गरेर सामुदायिक तथा निजी विद्यालयमा सचेतनाकमा कार्यक्रम आयोजना गर्ने र दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सुरक्षा र सक्रियता बढाउने निर्णय गरिएको छ । विद्यालयमा सचेतनाका लागि नगर शिक्षा शाखा मार्फत अघि बढ्ने उहाँको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ६ गते मंगलबार