बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबारदेखि पाटेबाघको गणना सुरु गरिएको छ । दुवै राष्ट्रिय निकुञ्जलाई एउटै कलस्टरमा राखेर पाटेबाघको गणना गर्न सुरु गरिएको हो ।
बाघ गणना कार्यको बुधबार एक कार्यक्रमकाबीच बर्दिया राष्ट्रिय निकुञ्जमा सुरु गरिएको थियो । नेपालमा हरेक चार वर्षमा पाटेबाघको गणना गर्ने गरिन्छ । बाँके बर्दिया कलस्टरको लागि बाघ गणना गर्न एक दर्जन हात्ती, प्राविधिक, कर्मचारीसहित झन्डै तीन सयजना परिचालन गरिएको छ । हाल बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटेबाघ रहेका छन् ।
अहिले यो संख्या बढेर एक सय १५ देखि एक सय २५ को संख्यासम्म पुग्ने अनुमान गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जमा यसअघि पहिलोपटक गरिएको पाटेबाघ गणनामा २१ वटा भेटिएका थिए । अहिले बाँके निकुञ्जमा समेत पाटेबाघको संख्या दोब्बर पुग्ने अनुमान गरिएको छ ।
बाँके र बर्दियामा पाटेबाघ गणनाको लागि चारवटा बल्क बनाइएको छ । अबको तीन महिनाभित्र दुवै निकुञ्जमा पाटेबाघको संख्या यकिन हुने गणनामा खटिएका प्राविधिकहरुले जनाएका छन् । दुवै निकुञ्जमा बाघ गणनामा सात सयवटा ग्रीडमा सात सय २० वटा क्यामेरा राखिनेछ । एउटा ग्रीडमा कम्तिमा १५ देखि २१ दिनसम्म क्यामेरा ट्¥याप राखिनेछ ।
निकुञ्जमा गणनामा खटिएका कर्मचारीहरुको सुरक्षालाई समेत विशेष ध्यान दिइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । विगतका भन्दा पाटेबाघको जोखिम बढी भएकोले हात्ती र नेपाली सेनाको संख्या समेत बढाइएको छ ।










प्रतिक्रिया दिनुहोस्