बुधबार बिहान ९ः४५ बजे । त्रिभुवन नमुना माध्यमिक विद्यालय (मावि) कोहलपुरको मूल ढोकामा सयौं विद्यार्थीहरु खचाखच थिए । शिक्षक र कार्यालय सहयोगी अगाडि लस्करै थिए । कोहीभित्र पसिसकेका थिए भने केही लाइनमा थिए त कोही बाटोमा आउँदै थिए ।
विद्यार्थीहरुको चेकिङ चल्दै थियो । केही दिन पहिले विद्यार्थीबाट खुकुरी बरामद भएको घटना बाहिरिएदेखि त्रिभुवन विद्यालय चर्चामा छ । बुधबार बिहान मिसन टुडे दैनिक विद्यालयमा पुग्दा त्रिभुवन माविको माहोल भिन्न देखिन्थ्यो ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीबाट रड र खुकुरीसमेत भएपछि कडाइ गरिएको छ । घटना नहुनुभन्दा पहिला त्यहाँ कुनै पनि कडाइ हुँदैनथियो । एक्कासि विद्यालयको गेटमै कडाइ गर्न थालेपछि विद्यार्थीहरु खासखुस गरिरेका देखिन्थे ।
मूलगेटमै विद्यार्थीको शरीर र झोलामा खान तलासी गर्ने गरिएको छ । विद्यालय प्रवेशको अवस्थामै भेटिएका त्रिभुवन नमुना मावि कक्षा १० मा अध्ययनरत मिलन बोहोरा भन्दै थिए, ‘हिजोबाट विद्यालय प्रवेशमा कडाइ गरिएको छ । सबै विद्यार्थीको झोला खानतलासी गर्छन् ।
डे«स लगाए नलगाएको समेत हेर्न थालिएको छ ।’ केही दिनयता विद्यालयमा पढाइ अस्तव्यस्त भएको उनी बताउँछन् । शान्ति क्षेत्रसमेत भनिने विद्यालयमा विद्यार्थीसँगै खुकुरी भेटिए पनि पढ्न आउन वातावरण नै सहज नभएको उनले बताए ।
विद्यार्थी बोहोराका अनुसार विद्यालय अध्ययन गर्न आउन नै डर लाग्छ । केही विद्यार्थीका कारण अन्य विद्यार्थीहरु भयपूर्ण वातावरणमा पढ्न बाध्य भएको उनको भनाइ थियो । आफूमात्रै नभएर घरमा अभिभावकसमेत डर मानेको उनले मिसन टुडे दैनिकलाई बताए ।
‘मलाई विद्यालयमा आउनै डर लाग्छ । घरमा अभिभावकले समेत निकै डर मानेका छन्,’ बोहोरा भन्छन्, ‘पछिल्लो केहीदिनयता राम्रो पढाइसमेत भएको छैन । अहिले विद्यालय प्रवेशमा समेत कडाइ गरिएको छ । उनी विद्यालय आउनै मन नलाग्ने बताउँछन् । उनले अभिभावकले आफूलाई विद्यालयमा राम्रोसँग पढ्न आग्रह गरेको बताए ।
सबै विद्यार्थीमा अहिले भयपूर्ण वातावरण त्यहाँ देखिन्छ । बरु विद्यालयमा शिक्षक र विद्यालय व्यवस्थापन समितिले केही नभएको उनले जानकारी दिए । उनले आफूले मोजा नलाएका कारण विद्यालयभित्र प्रवेश नगराउँदा फेरि किनेर भित्र पसेको उनले बताए । बोहोरासहित कक्षा ९ मा अध्ययनरत राजकुमार कुँवर र धमेन्द्र खड्का पनि विद्यालय आउन डर लाग्ने गरेको बताउँदै थिए ।
खड्काले केहीदिनयता सिंगो विद्यालयमा भयवित वातावरण रहेको बताए । आफ्नो कक्षामा समेत सबै साथीहरुको मानसिकता त्रासपूर्ण रहेको उनले जनाए । आफूहरुलाई घटनाबारे धेरै कुरा थाहा नभएको तर घटनाको असर आफ्नो पढाइमा परिरहेको खड्का बताउँछन् । घरमा आफ्ना अभिभावकले विद्यालयमा राम्रोसँग पढ्न र अरु कसैसँग झगडा नगर्न सुझाएको उनको भनाइ छ ।
अर्का विद्यार्थी कुँवरलाई भने फेरि विद्यालयमा नराम्रो घटना घट्ने पो होकी भन्ने त्रास छ । विद्यालयमा धेरै विद्यार्थी भएकोले सामान्य कुरामा ठूलो घटना घट्ने खतरा छ । त्रिभुवन नमुना माविमा अहिले ३३ सय विद्यार्थी अध्ययनरत छन् ।
त्यहाँ उच्च मावितर्फ विज्ञान, व्यवस्थापन र शिक्षा संकाय अध्ययपन भइरहेको छ । प्रधानाध्यापक देवका बस्नेत थापा विद्यालयमा गम्भीर घटना घटेपछि कडाइ गरिएको बताउँछिन् । उनका अनुसार आगामी दिनमा विद्यार्थीहरुलाई विशेष कडाइ गरिनेछ ।
‘थप कडाइ गरिएको छ’
विद्यार्थी खुकुरी लिएर विद्यालय जाने गरेको समाचारप्रति कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चासो देखाएको
छ । शाखाका प्रमुख रविलाल मिजारले यो विषयमा मंगलबारको प्रअ बैठकमा समेत छलफल भएको जानकारी दिए ।
‘समाचार प्रकाशित भएपछि मंगलबारको नियमित प्रअ बैठकमा समेत छलफल भएको थियो,’ उनले भने, ‘विद्यालयहरुमा कडाइसमेत गरिन सुरु भइसकेको छ ।’
शाखाले नगरभित्रका विद्यालयहरुलाई कुनै लिखित परिपत्र नगरे पनि मौखिकरुपमा भने प्रअ बैठकमा जानकारी गराइसकेको शाखा प्रमुख मिजारले बताए । ‘हामी छड्के अनुगमनमा जाँदा त्यस्तो केही त पाइँदैन ।
विद्यालयबाट हामीसम्मसमेत यस्ता कुराहरु आइपुग्दैनन्,’ उनले भने, ‘हामी यस्ता विषयमा नियमितरुपमा छलफल त गरिरहेका हुन्छौं । समाचार नै बाहिर आएपछि हामी गम्भीर भएका छौं ।’










प्रतिक्रिया दिनुहोस्