मुम्बई विमानस्थलमा कार्यरत लोडर केहीबेर विमानमै निदाउँदा अबुधाबी पुगे



काठमाडौँ ।

विमानमा सामान लोड गर्ने एक लोडर सामान लोड गर्ने क्रममै केहीबेर विमानभित्र निदाउँदा मुम्बईबाट अबुधाबी पुगेका छन् ।

भारतको मुम्बईबाट अबुधाबी जाने इन्डिगो एयरलाइन्सको विमानमा सामान लोड गरिरहेको अवस्थामा एक लोडर कार्गो कम्पाटमेन्टमै केहीबेर सुतेका थिए । उनी सुतेकै अवस्थामा सो विमान आबुधाबीतर्फ प्रस्थान गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार इन्डिगोको फ्लाइट नम्बर ६ई–१८३५ को विमान आइतबार राति ३ बजे मुम्बईबाट अबुधाबीका लागि उडान भरेको थियो । सो विमान अबुधाबीमा पुगेपछि कार्गो कम्पार्टमेन्टबाट सामान उतार्ने क्रममा ती लोडरलाई विमानभित्रै फेला पारिएको हो ।

उनलाई तत्कालै स्वास्थ्य परीक्षणका लागि लगिएको र उनको स्वास्थ्य अवस्था सामान्य पाइएको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार ती लोडर सामान लोड गर्ने क्रममै विमानमा केहीबेर सुतेका थिए । उनको निन्द्रा खुल्दा विमान उडिसकेको थियो ।

अबुधाबीका अधिकारीहरुसँग अनुमति लिएर ती लोडरलाई सोही विमानमार्फत एक यात्रीका रुपमा मुम्बई ल्याइएको छ । उक्त घटनाका सम्बन्धमा छानबिन भइरहेको र त्यतिबेला ड्युटीमा रहेका केही कर्मचारीलाई छानबिन नसकिउन्जेलसम्मका लागि निलम्बित गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २९ गते बुधबार