‘नागरिकता विधेयक पास हुन्छ’



नेपालगन्ज ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सदनको अवरोध सकिए नागरिकता विधेयक पास हुने बताएका छन् । बाँकेको डुडुवा गाउँपालिकामा शनिबार भएको जनसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले आफूहरुको आन्दोलनको कारण ३१ लाख नागरिकले नागरिकता पाएको दाबी समेत गरेका थिए ।

‘मधेश आन्दोलन कै कारण नागरिकताबाट वञ्चित ३१ लाख नागरिकले नागरिकता पाएका हुन्’ अध्यक्ष यादवले भने, ‘अझै पनि धेरै नागरिकले नागरिकता नपाएकाले सदनको अवरोध सकिएलगत्तै विधेयक पास गराएर नागरिकता वितरण गराइनेछ ।’

वर्तमान गठबन्धन निर्माण कै बेला नागरिकता लगाएतका समस्या समाधानको सहमति गरेर नै सरकारमा सहभागी भएको बताउँदै उनले नागरिकता समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

अध्यक्ष यादवले जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिकास निर्माणका साथै जनताका समस्या समाधानमा केन्द्रीत हुन निर्देशन दिएको दाबी समेत गरे ।

कार्यक्रममा सहभागी लुम्बिनी प्रदेश सरकारका भौतिक योजना निर्माणमन्त्री सहजराम यादवलाई देखाउँदै यस क्षेत्रका जनताका समस्या समाधान गर्न निर्देशन दिएका थिए । सो अवसरमा बोल्दै पूर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले डुडुवाको विकासका लागि धेरै योजना ल्याएको जनाउँदै तर गाउँपालिकाको असहयोगले समस्या भएको बताए ।

‘मन्त्री हुँदा मैले डुडुवाको विकासका लागि धेरै योजना ल्याएको थिए’ उनले भने, ‘गाउँपालिकाको असहयोगका कारण धेरै योजना अगाडी बढ्न पाएनन् ।’ सो अवसरमा लुम्बिनी प्रदेश सरकारका भौतिक योजना निर्माण मन्त्री सहसराम यादले राप्ती नदीमा तटबन्ध र सडक निर्माणका प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताएका थिए ।

अध्यक्ष यादवसहितका नेताहरु शनिबार डुडुवासहित नरैनापुर, खजुरा, नेपालगन्ज लगाएतका विभिन्न पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी भएको जनता समाजवादी पार्टी नेपाल बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २६ गते आइतबार