बाँकेको नेपालगन्जमा नागरिकहरु सडकमा उत्रिएर भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाएका छन् । बिहीबार भ्रष्टाचारविरुद्ध सामूहिक सन्देश प्रवाह गर्न नेपालगन्जको सडकमा नागरिक उत्रिएका हुन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा ‘भ्रष्ट्राचारविरुद्धका लागि सँगै हिँडौं’ भन्ने नारा साथ पश्चिम नेपालमा पहिलोपटक गरिएको ‘नेपालगन्ज वाकाथन’ उनीहरुले ऐक्यबद्धता जनाए । बास नेपालले आयोजना गरेको नेपालगन्ज वाकाथनमा बाँकेका सरकारी निकाय, गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठान, विभिन्न समिति तथा संगठनहरु, शैक्षिक क्षेत्रलगायत आमनागरिकहरुको सहभागिता रहेको थियो ।
वाकाथनका क्रममा सहभागहीरुले भ्रष्टाचारविरुद्धका नाराहरु अंकित प्लेकार्ड, झाँकी प्रदर्शन, राष्ट्र भक्तिपूर्ण गीतहरुमा सांस्कृतिक प्रस्तूतीकरण तथा गीतहरु प्रस्तुत गरेका थिए ।
भ्रष्टाचारविरुद्ध गरिएको नेपालगन्ज वाकाथनको समापनमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भ्रष्टाचार समाज विकासको बाधक रहेको बताए । उनले गर्नुपर्ने काम नगर्ने र गर्न नहुने काम गर्ने कार्य भ्रष्टाचार हुने भन्दै सबैलाई नीति नियम र कानुनको परिधिभित्र रहेर काम गर्नसमेत अपिल गरेका छन् ।
नेपालगन्ज वाकाथनमा कलाकार प्रकाश सपुतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा ‘यो देश मेरो पनि हैन र’, ‘बोल माया बोल’ लगायत देशभक्ति गीतहरु स्टेजमार्फत गाउँदा कार्यक्रममा उपस्थित नागरिकहरुले साथ दिएका थिए । वाकाथनमा सांस्कृतिक प्रस्तूति, झाँकी प्रदर्शन, सडक नाटक, पर्चा, पम्लपेट वितरण, विभिन्न प्रतियोगितालगायतका गतिविधिहरु भएका थिए ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्र संघीय महासभाबाट भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्र संघीय महासन्धि पारित भएको थियो । कूल एक सय ३४ राष्ट्रले हस्ताक्षर गरी महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्