निकुञ्ज छिरेका सिकारी पक्राउ



कोहलपुर ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र सिकार गर्न गएका चारजना सिकारी पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त पेट्रोल गस्ती टोलीले चारजना सिकारीलाई पक्राउ गरेको हो ।

मंसिर २१ गते निकुञ्जभित्रबाट पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–५, हात्तीखालका ३७ वर्षीय लक्ष्मण गिरी, सोही ठाउँका ६२ वर्षीय भद्रबहादुर ओली, ५६ वर्षीय ठगबहादुर थापा र २२ वर्षीय ललित घर्ती छन् ।

पक्राउ परेका चारैजनाको साथबाट तीन नाल भरुवा बन्दुक, ४१ थान गोली, एक सय ग्राम छर्रा, तीन सय ग्राम बारुद्ध, चारवटा हँसिया, साइकलको ३७ थान छर्रा, एउटा रेती र पाँचवटा सलाइ बरामद गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको कार्यालय ठाकुरद्वारामा बुझाएको थियो । उनीहरुमाथि थप अनुसन्धान र छानबिन भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार