हुस्सु र कुहिरोले उडान प्रभावित



नेपालगन्ज ।

मौसम परिवर्तनसँगै नेपालगन्ज विमानस्थलबाट हुने दैनिक उडान प्रभावित हुन थालेका छन् । साँझबिहान हुस्सु लाग्दा दैनिक उडान प्रभावित हुने गरेका हुन् । बिहान लाग्ने हुस्सु र कुहिरोले उडान समयभन्दा केही ढिला हुने गरेको छ ।

समयमै उडान नहुँदा यात्रुहरुलाई सास्ती हुने गरेको छ । नेपालगन्जबाट पहाडी जिल्ला हुम्ला, डोल्पा, जुम्ला, रुकुम पश्चिमलगायत सुदूरपश्चिमका जिल्ला र काठमाडौं उडान हुँदै आएको छ । समयमै उडान नहुँदा आफूहरु चिसो हावामा बस्न बाध्य भएको यात्रुहरु बताउँछन् ।

‘बिहानै उडान हुन्छ भनेर एयरपोर्ट आएको हुँ, अहिलेसम्म उडान भएको छैन,’ जुम्ला जान लागेका हर्कसिंह बुढाले भने, ‘हुस्सु र कुहिरोले समयमै उडान भएन ।’ आफूसँगै अन्य यात्रुहरु पनि विमानस्थलभित्र चिसोमा बस्न बाध्य भएको उनी बताउँछन् ।

‘हुस्सु र कुहिरो फाट्ला (हट्ला) भनेको हटेन,’ हुम्लाका लागि आएका देउभान लामाले भने । उनीहरुको उडान घाम लागेपछि मात्र भयो । हुस्सु र कुहिरो लाग्नु प्राकृतिक कारण भए पनि त्यसबाट न्यानो हुन सरकारले विमानस्थलमा पहल गर्नुपर्ने यात्रुहरु बताउँछन् ।

उडान समयमै नहुँदा गन्तव्यमा पुग्न हतार यात्रुहरु उडान नहुने नहुने अन्योल हुने गरेका छन् । ‘कतिबेला घाम लाग्छ र उडान हुन्छ थाहा नै हुँदैन,’ मुगुका नरेन्द्र मल्लले भने ।

पछिल्लो हप्ता दिनयतादेखि हुस्सु र कुहिरोले उडान समस्या ल्याएको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ । ‘बिहान हुस्सु र कुहिरोले उडान प्रभावित गर्छ,’ नेपालगन्ज विमानस्थल कार्यालय प्रमुख सुभाष झाले भने, ‘तर घाम लागेपछि हुस्सु र कुहिरो हटिहाल्छ र उडान पुनः नियमित हुन्छ ।’ हुस्सु र कुहिरोका कारण उडान स्थगित भने गर्नु नपरेको उनको भनाइ छ ।

‘हुस्सु र कुहिरोका कारण उडान स्थगित गरेका छैनौं,’ उनी भन्छन्, ‘बरु केही समय ढिला भएको छ ।’ घाम लाग्दा भिजिविलिटी १६ सय मिटरभन्दा पुग्ने हुँदा उडान नरोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

बिहानको समसमै भिजिविलिटी ह्वात्तै घट्ने गरेको छ । हाल नेपालगन्ज विमानस्थलबाट दैनिक ३० भन्दा बढी उडान हुँदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार