बढेन सेयर लगानीकर्ताको मनोबल



Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

कोहलपुर ।

सेयर लगानीकर्ताका नाममा खुलेका विभिन्न संगठन एकीकृत भएर संयुक्त संघर्ष गर्ने निर्णय गरे पनि त्यसको प्रभाव भने सेयर बजारमा पर्न सकेन । सोमबार सेयर लगानीकर्ताका विभिन्न संगठनहरूको बैठकले लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा एकीकृत अभियान सञ्चालन गर्ने घोषणा गरिएको थियो ।

तर, उक्त अभियानले सेयर बजारमा भने सकारात्मक प्रभाव पारेको देखिएन । सोमबार ३२ अंकले बढेको नेप्से उक्त वृद्धि एक दिन पनि टिक्न नसकी मंगलबार सोभन्दा बढीले गिरावट भएर बन्द भएको छ ।

यसले लगानीकर्ताको नाममा नेता बनेका संगठप्रति सेयर लगानीकर्ताको विश्वास नरहेको देखिन्छ । सोमबार तीव्र उतारचढावबीच ३२ अंकले बढेको सेयर बजार परिसूचक नेप्सेको उक्त वृद्धि एक दिन पनि नटिकी मंगलबारै ३७ अंकको गिरावट भएको छ । आइतबार ७२ अंकको उच्च गिरावटपछि सोमबार सुरुवाती समयमा उच्च गिरावटका बाबजुत पनि अन्तिममा नेप्सेमा ३२ अंकले वृद्धि भएको थियो ।

सोमबारकै जति उतारचढाव नदेखिए पनि मंगलबार नेप्सेमा ३७ अंकको गिरावट भएर बन्द भएको छ । हिजो र मंगलबारको नेप्सेको उतारचढावमा फरक प्रवृत्ति देखिएको छ । सोमबार सुरुवाती एक घण्टामा ७५ अंकको उच्च गिरावटपछि नेप्सेमा सुधार भएको थियो । तर, मंगलबार ठीकविपरीत सुरुवाती एक घण्टामा ४४ अंकको वृद्धिपछि घट्न लागेको नेप्से सोमबारको क्लोजिङ विन्दुबाट ३७.१८ अंकले घटेर २५०८.९१ अंकमा बन्द भएको छ ।

नेप्सेले ‘इन्ट्रा–डे’मा २५९०.७६ अंकको उच्च विन्दु कायम गर्दा २५०५.८६ अंकको न्यून विन्दुमा झरेको थियो । नेप्सेमा करिब ८५ अंकको उतारचढाव देखिएको हो । मंगलबार नेप्सेसँगै अघिकांश उपसूचकमा गिरावट हुँदा व्यापार र म्युचुअल फन्ड उपसूचक भने बढेको छ । व्यापार उपसूचक र म्युचुअल फन्ड उपसूचक ०.८२ प्रतिशतले वृद्धि भएका छन् ।

वित्त कम्पनी उपसूचकमा भने सर्वाधिक ३.८६ प्रतिशतको गिरावट भएको छ । विकास बैंक उपसूचक २.९९ प्रतिशत, हाइड्रोपावर उपसूचक २.५४ प्रतिशत र अन्य उपसूचक २.८४ प्रतिशतले गिरावट हुँदा बैंकिङ उपसूचक पनि ०.७९ प्रतिशतले गिरावट भएको छ ।

बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार साढे चार अर्ब नाघेको कारोबार रकम मंगलबार तीन अर्बमा सीमित भएको छ । मंगलबार नेप्सेमा ८३ लाख ३० हजार ९३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब १२ करोड ८३ लाख ४२ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
कारोबार रकममा प्राइम कमर्सिलय बैंकले लिड गरेको छ । बैंकको १२ करोड ३६ लाखको कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ११ करोड ८६ लाख, आईसीएफसी फाइनान्सको ११ करोड र अपी पावरको १० करोडको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल १८९ कम्पनीको सेयर कारोबार भएकोमा १६० कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा २६ कम्पनीको बढेको छ भने तीन कम्पनीको स्थिर रहेको छ । कारोबारमा आएका मध्ये सिभिल लघुवित्तको सेयर मूल्य ३.१९ प्रतिशत र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य १.९६ प्रतिशतले बढेको छ ।

सेयर मूल्य घट्नेमा भने आईसीएफसी फाइनान्स अगाडि छ । कम्पनीको सेयर मूल्य ७.६५ प्रतिशतले गिरावट हुँदा कालिका लघुवित्तको ६.७७, प्रतिशत, सिनर्जी पावरको ६.२९ प्रतिशत, हिमालयन पावर पार्टनरको ५.९१ प्रतिशत र रिलायन्स फाइनान्सको ५.६६ प्रतिशतले घटेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २२ गते बुधबार