धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमा पक्राउ परेकी छिन् । उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको हो ।
रोकायालाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । निशान सौतेनी आमा रोकायासंगै शिखर टोलमा रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए । उनी मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए भने रोकाया सोही दिनदेखि फरार थिइन् । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे भोलि पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।
यस्तो छ घटनाक्रम
बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का बहादुर रोकायाकी श्रीमती माघी रोकाया धनगढी उपमहानगरपालिका वडा नम्बर २ शिखर टोलमा बस्दै आएकी थिइन् । उनीसंगै एक छोरा र एक छोरी पनि थिए ।
उनीहरु रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए । जोशीको परिवार भारतमा बस्दै आएको छ भने २ कोठे घरको सम्पूर्ण जिम्मेवारी माघी रोकायालाई दिइएको थियो ।
बहादुरले दोस्रो विवाह गरेपछि कान्छी श्रीमतीले माइतबाटै एक छोरा लिएर आइन् । उनी थिए १० वर्षीय निशान थापामगर । बहादुरकी कान्छी श्रीमती भारतमा बस्न थालिन् भने निशानलाई जेठी श्रीमती माघीसंग धनगढीमा राखियो ।
कार्तिक ३० गतेपछि माघीसँग सम्पर्क हुन नसकेपछि २ गते बहादुरले आफन्तलाई सोधीखोजी गर्न शिखर टोलस्थिल माघी बस्दै आएको घरमा पठाए । त्यहाँ माघी र उनका छोराछोरी थिएनन् भने १० वर्षीय निशान भने मृत फेला परेका हुन् ।










प्रतिक्रिया दिनुहोस्