बाँकेमा तीन पालिकामा माओवादीलाई नेतृत्व छान्न सकस



कोहलपुर ।

नेकपा माओवादी केन्द्रको पालिका सम्मेलनअन्तर्गत बाँकेका दुई पालिकामा आन्तरिक विवादका कारण नेतृत्व चयनमा सकस भएको
छ । राप्तीसोनारी र नरैनापुरमा गाउँपालिकामा अध्यक्षमा धेरैजना आकांक्षी देखिएपछि नेतृत्व चयन हुन नसकेको हो ।
राप्तीसोनारीको अध्यक्षको लागि आधा दर्जनले आकांक्षा देखाएका छन् ।

चामबहादुर घर्ती, आस्माली पुन, सूर्य घर्तीमगर, रामलखन थारुलगायतले अध्यक्ष पदको लागि दाबी गरेका छन् । अन्य पदहरुको बारेमा टुंगो लागे पनि अध्यक्षमा कुरा नमिल्दा नेतृत्व चयन हुन नसकेको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले जानकारी दिए । राप्तीपारिकै नरैनापुर गाउँपालिकामा समेत विवादका कारण आइतबार नेतृत्व चयन हुन सकेन ।

त्यहाँ पनि अध्यक्ष पदको लागि दुईजनाले दाबी गरेपछि पालिका कमिटी घोषणा हुन नसकेको हो । दुवै पालिकामा नेताहरुले आफू पक्षीय नेतृत्व ल्याउन खोजेपछि कुरा नमिलेको बताइएको छ ।

‘यस क्षेत्र तथा अन्य क्षेत्रका जिल्लास्तरका नेताहरुले दुवै पालिकामा आफू अनुकूलका नेतृत्व ल्याउन खोजेका छन्,’ राप्तीसोनारीका एक नेताले भने, ‘नेताहरुको जुहारीका कारण यस्तो समस्या आएको हो । आफ्नाभन्दा पनि पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने नेतृत्व
आउनुपर्छ ।’

दुवै पालिकामा सर्वसम्मत्का लागि पहल भइराखेकोले सकेसम्म आज नै नयाँ नेतृत्व चयन गरिने नेताहरुले बताएका छन् । जिल्लाका चार पालिकामा भने शनिबार नै नेकपा माओवादी केन्द्रले सर्वसम्मत्रुपमा नै नयाँ नेतृत्व चयन गरेको थियो । नेपालगन्ज उपमहानगरपालिका, खजुरा, जानकी र डुडुवा गाउँपालिकामा शनिबार नै सर्वसम्मत्रुपमा नेतृत्व चयन गरिएको हो ।

नेपालगन्जमा रतन शाहीको अध्यक्षतामा ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन भएको नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज अक्कलबहादुर बमले जानकारी दिए । आइतबार भने बाँकेका दुई पालिकामा नयाँ नेतृत्व चयन गरिएको थियो ।

कोहलपुर नगरपालिकाको अध्यक्ष अवराज खड्का सर्वसम्मत्रुपमा चयन भएका छन् । खड्काको नेतृत्वमा ६२ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरिएको कोहलपुर इन्चार्ज नरेन्द्र न्यौपानेले जानकारी दिए । कमिटीको उपाध्यक्षमा बलबहादुर खड्का, सावित्रा पुन, कृष्णबहादुर थारु, सचिवमा दानबहादुर ओली, सहसचिवमा अर्जुन पौडेल तथा कोषाध्यक्षमा सुरज जागा चयन भएका छन् ।

यस्तै बैजनाथ गाउँपालिकामा समेत अध्यक्षबाहेक अन्य पदहरुमा सर्वसम्मत् भइसकेको छ ।

सुर्खेतमा पनि सहमतीय नेतृत्व

त्यस्तै सुर्खेतका पाँच स्थानीय तहमा नेकपा माओवादी केन्द्रले नेतृत्व चयन गरेको छ । अब बाँकी चार स्थानीय तहमा नेतृत्व चयन गर्न बाँकी छ । पाँचै पालिकामा सर्वसम्मत् नेतृत्व चयन गरेको जिल्ला समन्वय समिति संयोजक कृष्ण जिसीले जनाए ।

उनका अनुसार अन्य स्थानीय तहमा पनि सहमतिको प्रयास भइरहेको छ । चौकुने गाउँपालिकामा गंगाराम विश्वकर्मा, बराहतालमा बलबहादुर कठायत, सिम्तामा चित्रबहादुर हमाल, पञ्चपुरीमा केशव शाही र भेरीगंगामा गणेश भण्डारी अध्यक्षमा चयन भएका छन् ।

दाङका पाँच तहमा नेतृत्व चयन

नेकपा माओवादी केन्द्र दाङले आठवटा स्थानीय तहमा नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिकांश पालिकामा माओवादीले निर्विरोध नेतृत्व चयन गरेको हो ।

घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, राप्ती गाउँपालिकाको अध्यक्षमा श्यामेश चौधरी, शान्तिनगर गाउँपालिकको अध्यक्षमा नेबबहादुर रोका, राजपुरको अध्यक्षमा चक्रबहादुर खड्का, बबई गाउँपालिकाको अध्यक्षमा डिल्लीबहादुर बुढाथोकी, बंगलाचुलीको अध्यक्षमा डोमाकान्त कँवर मगर, गढवा गाउँपालिकाको अध्यक्षमा अध्यक्ष यमनारायण पोख्रेल र दंगीशरणको अध्यक्ष मणिराम चाधरी निर्वाचित भएका छन् ।

दाङका १० स्थानीयमध्ये लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिमा नेतृत्व चयन गर्न बाँकी छ । तुलसीपुरमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन समितिले आइतबार दिउँसोदेखि प्रक्रिया अघि बढाएको छ भने लमहीमा कार्यसमिति चयन भए पनि नेतृत्व चयन हुन नसकेकाले मंसिर १५ गतेको बैठकबाट टुंगो लगाउने जानकारी आएको जिल्ला संयोजक तुलसीराम पुनले जानकारी दिएका छन् ।

कैलालीका पाँच तहमा सहमति

नेकपा माओवादी केन्द्रले कैलालीका पाँच स्थानीय तहमा सर्वसहमतिमा नेतृत्व चयन गरेको छ । आइतबार माओवादी केन्द्रले गोदावरी र भजनी नगरपालिका, बर्दगोरिया, जानकी र मोहन्याल गाउँपालिकामा सर्वसहमतिमा नेतृत्व चयन गरेको हो ।

१३ पालिकामध्ये पाँच पालिकाले नेतृत्व सहमतिमा टुंगिएपछि अन्य स्थानीय तहमा पनि सहमतिका लागि पहल भइरहेको माओवादी केन्द्र कैलालीका अध्यक्ष लालबहादुर सोडारीले जानकारी दिए ।

उनका अनुसार गोदावरी नगरपालिकामा धर्म कुवँर, भजनी नगरपालिकामा विश्व चौधरी, बर्दगोरिया गाउँपालिकामा रामबहादुर साउँद, जानकी गाउँपालिकामा सौरभ कुवँर र मोहन्याल गाउँपालिकामा देवीदत्त उपाध्याय अध्यक्षमा चयन भएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १३ गते सोमबार