नेपालगन्जमा धान खरिद गर्न एक हप्ता लाग्ने



कोहलपुर ।

बाँकेमा किसानले उत्पादन गरेको धान सरकारले तोकेको समर्थन मूल्यमा खरिद गर्न थप एक हप्ता लाग्ने भएको छ ।

सरकारको पूर्ण स्वामित्वमा रहेकोे खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बाँके शाखा कार्यालयका प्रमुख राम बहादुर विस्टले दिएको जानकारी अनुसार धान खरिद गर्न परिपत्र आइनसकेका कारण अझै एक हप्ता समय लाग्ने देखिएको हो ।

एक हप्ता अघि किसानहरुले कम्पनीमै पुगेर धान खरिद गर्न दवाव दिदाँ एक हप्तामा खरिद गर्ने मौखिक सहमति भएको तर सहमति भएको एक हप्तापछि पुनः अझै एक हप्ता समय किसानले पर्खन पर्ने देखिएको हो ।

जसले गर्दा किसानले विक्रिका राखेको धान जोगाउन मुस्किल परिरहेको छ । यस पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले धान खरिदमा विशेष मापदण्ड समेत अपनाउने भएपछि धेरै किसानको धान खरिद नहुनेतर्फ आंशका समेत बढेको छ ।

यो वर्ष सरकारले मोटा धानको २ हजार ७ सय ५२ रुपैयाँ समर्थन मूल्य तोकेको छ भने मध्यम धानको २९ सय २ रुपैयाँ तोकेको छ । समयमै मूल्य तोकिएपनि धान खरिद गर्न नसकेको कम्पनीका कारण किसानले दुख बेहोर्नु परिरहेको छ ।

किसानलाई राहत पुगोस भन्ने हेतुले सरकारले समर्थन मूल्य तोकिदिएको हो तर कम्पनीका ढिला सुस्तिले गर्दा आम सर्वसाधारणले विना कारण सास्ती बेहोर्नु परेको खजुराका अगुवा किसान कृष्ण विक्रम केसीले गुनासो गरे ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ७ गते मंगलबार