निःशुल्क प्याड पाउँदा खुसी !



कोहलपुर ।

बाँके बैजनाथ–४ की चन्दा नेपाली गृहिणी हुन् । औपचारिक शिक्षा आर्जन नगरेकी उनी स्वास्थ्यको भने ख्याल राख्छिन् । घरको आर्थिक व्यायभार समेत सम्हालिरहेकी नेपाली चौराहामा व्यवसाय गर्छिन् । उनले मजदुरी गरेर कमाएको पैसाले खानपिन तथा केटाकेटीको पढाइ लेखाइमै ठिक्क हुन्छ । आफूले चाहेर पनि स्वास्थ्यको विषयमा ख्याल राख्न नसकिएको उनी बताउँछिन् ।

उनलाई महिनावारी भएको बेला प्याड लगाएमा सुरक्षित भइन्छ भन्ने थाहा छ । तर उनलाई प्याड किन्न न परिवारमा राम्रो वातावरण त न आर्थिक अवस्थाले धानेको छ । शनिबार कोहलपुरको चौराहामा भेटिएकी उनी निःशुल्क सेनेटरी प्याड पाउँदा निकै खुसी देखिन्थिन् । नगरस्तरीय बाल सञ्जालले दिवसको अवसरमा वितरण गरेको निःशुल्क प्याड पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताइन् । अब उनलाई एक महिनासम्म ढुक्क भएको छ ।

यस्तै जुम्ला घर भइ हाल कोहलपुर–११ मा बसोबास गर्दै आएकी सम्झना बुढा पनि ठेला व्यवसाय गर्छिन् । सदा झै शनिबार पनि चौराहामा व्यवसाय गरिरहेकी उनलाई सँगै रहेकी साथीले निःशुल्क प्याड वितरण भइरहेको जानकारी दिइन् ।

कक्षा आठसम्मको औपचारिक अध्ययन गरेकी बुढाले प्याड त लगाउने गरेकी थिइन् । तर सेनेटरी प्याड प्रयोगको विषयमा समेत जानकारी लिने अवसर पाइन् । प्याड प्रयोगको विषयमा जानकारी पाउनुका साथै बालसञ्जालले उनलाई निःशुल्क प्याड दिएको छ । ‘प्याड प्रयोगको विषयमा पढेको हो ।

मैले प्रयोग पनि गर्दै आएको छु । अहिले क्लबले निःशुल्क दिदाँ खुसी लागेको छ ।’ दुई सन्तानकी आमा समेत रहेकी सम्झना भन्छिन् । उनले सबैलाई विशेषगरी महिनावारी भएको समयमा प्याड प्रयोग गर्न सबैलाई आग्रह समेत गरिन् । कोहलपुर–५ की कल्पना शाहलाई पनि निःशुल्क सेनेटरी प्याड पाउँदा खुसी लागेको छ । शनिबार दिउँसो कामको शिलशिलामा चौराहामा पुगेकी उनलाई क्लबले निःशुल्क प्याड वितरण गरेको हो ।

अन्र्तराष्ट्रिय बाल दिवसको अवसरमा कोहलपुर नगर स्तरीय बाल सञ्जालले कोहलपुर नगरपालिकामा किशोरी तथा बालिकालाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरेको छ । शनिबार दिवसको अवसर पारेर कोहलपुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा चौराहामा निःशुल्क प्याड वितरण कार्यक्रम सुरु भएको हो ।

सो अवसरमा पहिलो दिन चौराहामा सयौ जनालाई निःशुल्क प्याड वितरण गरिएको अध्यक्ष रमेश वरले बताए । उनले अबदेखि प्रत्येक शनिबार नगरपालिकाका विभिन्न वडामा १० वटा शनिबार निःशुल्क प्याड वितरण गर्ने जानकारी दिए ।

उनका अनुसार प्याड अभावका कारण समस्या भोगिरहेको किशोरी, बालिका तथा महिलाहरुलाई सहज होस् भन्ने उद्देश्यले दिवसको अवसरमा निःशुल्क प्याड विरतण कार्यक्रम सुरु गरिएको हो । अध्यक्ष वरले नगरपालिकाका कौशिलानगर, चप्परगौडी, साझाचोक र हवल्दारपुर लगायतका क्षेत्रमा निःशुल्क प्याड वितरण गर्ने कार्यक्रम रहेको बताए ।

सेनेटरी प्याड प्रयोगबारे जानकारी

किशोरी तथा बालिकालाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु भएको कार्यक्रममा प्याड वितरणको बारेमा जानकारी गराइएको थियो । नगर बाल सञ्जालकी उपाध्यक्ष दिप्ती सुनारले उक्त विषयमा जानकारी दिइन् । उनले महिनावारी भएको बेला प्याड प्रयोग अपरिहार्य भएको बताइन् । उनका अनुसार प्याडका विषयमा समेत ज्ञान हुन आवश्यक छ ।

यस्तै बाँके युनेस्को क्लबकी आशा गुरुङले प्याडका प्रकार, प्रयोगका फाइदा, बेफाइदा र प्याड प्रयोगको विधिबारे स्पष्ट पारेकी थिइन् । उनका अनुसार प्याड दुई प्रकारका हुन्छन् । उनले बायो प्याड र सेनेटरी प्याड गरी दुई प्रकारका प्याड रहेको जानकारी दिइन् । महिनावारी स्वच्छताका लागि प्याड प्रयोग अनिवार्य भएको उनको भनाइ छ ।

यस्तै प्याड प्रयोगले महिनावारी समयमा हुने जोखिम कम गर्ने समेत उनले बताइन् । ‘बायो प्याड घरेलु हो । यो घरमै बनाउन सकिन्छ । यो मुलायम सुतीको कपडाबाट बन्छ,’ उनले भनिन्, ‘यो प्याड प्रयोगले महिलाहरुको गुप्त अंगमा इन्फेक्सन हुनबाट बचाउँछ ।

यो समयसम्म काम लाग्ने प्याड समेत हो ।’ उनले महिनावारी भएको समयमा ४ देखि ६ घण्टासम्म अनिवार्य प्याड प्रयोग गर्नु उपयुक्त हुने जानकारी दिइन् । उनका अनुसार सेनेटरी प्याड भने एकपटक मात्र प्रयोग गर्नुपर्छ । प्रयोग गरीसकेपछि सुरक्षित रुपमा व्यवस्थापन पनि महत्वपूर्ण रहेको गुरुङको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ५ गते आइतबार