ठाकुरबाबामा पञ्चगब्य अनुसन्धान केन्द्र बन्ने



बर्दिया ।

बर्दियाको ठाकुरबाबामा पञ्चगब्य (गोमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । गौ संरक्षण अभियानअन्तर्गत पञ्चगब्य (गोमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको हो ।

विश्व हिन्दू युवा संघका धार्मिक सद्भावना दूत योगी पिताम्वरको नेतृत्वमा पञ्चगब्य अनुसन्धान केन्द्र स्थापना हुनेछ । ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिरमा शनिबार रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपालका गब्यसिद्ध डाक्टर नरेन्द्र हमाल, प्रेम आर्य र बाबा योगिराजको सैद्धान्तिक नेतृत्वमा पञ्चगब्य अनुसन्धान केन्द्र सञ्चालन हुनेछ । केन्द्रले गौ संरक्षणमा ठूलो योगदान पु¥याउँदै स्थानीयको आयआर्जनमा टेवा पु¥याउने लक्ष्य लिएको अध्यक्ष शाहले दाबी गरे ।

गौ संरक्षण अभियानसँगै दलित समुदायप्रतिको विभेद् अन्त्य गर्न ठाकुरबाबा मन्दिरमा धार्मिक अनुष्ठान गरिने उनले जानकारी दिए । ठाकुरबाबामा आयोजित धार्मिक सभामा आउने पाहुनाहरुलाई स्थानीयले आफ्ना घरमा खाना तथा बासको लागि सहयोग गर्न आयोजक संस्थाले सबैलाई अनुरोध समेत गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २ गते बिहीबार