लमहीमा रहेको पर्यटकिय क्षेत्र जखेरातालमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालेको छ । जखेराताल संरक्षण गर्दै विभिन्न पर्यटकीय संचरना बनाएपछि आन्तरिक पर्यटकहरुको भिड लाग्न थालेको हो । कोरोना भाइरस (कोभिड–१९) का कारण सुनसान बनेको पर्यटकीय क्षेत्र जखेराताल अवलोकनको लागि आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्दै गएका हुन् ।
साउनदेखि कार्तिक मसान्तसम्म ६ हजार बढीले जखेराताल क्षेत्रको अवलोकन गरेको जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले जानकारी दिए । ‘विस्तारै कोभिडको त्रास कम भएसँगै आन्तरिक पर्यटकहरु यहाँ धेरै आइरहनुभएको छ’ उनले भने, ‘पर्यटकहरुका लागि हामीले नयाँ संचरना समेत थप गरेका छौं ।’
तालको अवलोकन गर्न आउनेहरुमा बाह्य पर्यटकहरुको संख्या भने एकदमै कम रहेको जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव बञ्जाडेले बताए । उनका अनुसार तिहारपछि भने अझै तालको अवलोकल तथा यस क्षेत्रमा घुम्न आउने मानिसहरुको संख्या ह्वात्तै बढेको छ । ‘तिहारपछि यहाँ पिकनिक खान, रमाइलो गर्न, तालमा ढुङ्गाको मज्जा लिन आउनेहरु बढेका छन्’ उनले भने, ‘बिदाको दिन त यहाँ भिडले सबै क्षेत्र भरिभराउ हुन्छ ।’
अघिल्लो वर्ष कोरोना कहरका कारण पर्यटक आवागमन पूर्णरुपमा ठप्प बनेको जखेराताल क्षेत्रमा यसवर्ष पर्यटक आगमन उत्साहजनक रहेको महासचिव बञ्जाडेले बताए । जखेरातालमा पर्यटकको चाप बढेसँगै कर्मचारीदेखि समितिका पदाधिकारीहरु निकै व्यस्त भएको उनी बताउँछन् ।
समूह समूहमा आएका पर्यटकका साथै पारिवारिक घुमघाममा आएकाहरु यतिखेर जखेरातालमा कतै सामूहिक फोटो खिचाउँदै छन् त कतै सेल्फी खिच्दै गरेका देखिन्छन् । कोरोनाको बाबजुद पनि यसवर्ष आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेपछि पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा पलाएको पर्यटन व्यवसायीहरु बताउँछन् ।
जखेरातालमा आउने पर्यटकले तालमा रहेको डुङ्गा सफारीदेखि लिएर धार्मिकरुपमा तालको बीचमा रहेको मन्दिरको अवलोकन गर्ने गर्दछन् । महासचिव बञ्जाडेका अनुसार अहिले दैनिक दरदर १२ सय आन्तरिक पर्यटकहरु आउने गरेका छन् । जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले यहाँ घुम्न आउने पर्यटकसँग राजश्व लिने गरेको छ ।
जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका कार्यसमिति सदस्य केशवराज पोख्रेलले तालको संरक्षण तथा व्यवस्थापनको काममा समुदायसँग समन्वय गरिएपछि ताल मात्र नभइ त्यस वरपर पर्ने समग्र क्षेत्रकै मुहार फेरिएको जानकारी दिए । शहरी कोलाहालबाट दिक्क भएका मानिसहरुको लागि शान्त वातावरणमा बस्दै प्राकृतिक सौन्दर्यता अवलोकनको लागि जखेराताल प्रभावकारी हुँदै आएको उनी बताउँछन् ।
जखेरा ताल लमही नगरपालिका वडा नं. ३ मा पर्दछ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुन्डबरी गाउँबाट करिब डेढ किलोमिटर उत्तरमा पर्ने यो ताललाई जनप्रतिनिधि चुनिएपछि व्यवस्थित बनाउने काम जारी छ । हाल लमही नगरको २० लाख बजेटमा तालको जग्गा विस्तार गर्ने, सफाइ गर्ने, रिटनिङ वाल निर्माण गर्ने, डुंगाको पेभेलियन निर्माण गर्ने लगायतका काम भइरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्