बाँकेमा फाइजरको मात्रा लगाउन सुरु



कोहलपुर ।

बाँकेमा कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ लगाउन सुरु गरिएको छ ।

नेपाल सरकारले दीर्घरोगी नागरिकलाई लक्षित गरेर सुरु गरेको अभियान बाँकेमा समेत सुरु भएको हो । आइतबारबाट भेरी अस्पतालमा खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा १ हजार आठ सय खोप लगाउने लक्ष्य छ ।

समाजमा रहेको दीर्घरोगी नागरिकलाई लक्षित गरेर सुरु गरिएको खोप अभियानको पहिलो दिन जम्मा १९ जनाले खोप लगाएका छन् । दीर्घरोगी नागरिक मध्ये मुटु रोग सम्बन्धी समस्या भएका ५ जना, मृर्गाैला पीडित र डायलासिस गरिरहेका ४ जना र क्यान्सर पीडित १ जनाले खोप लगाएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

यस्तै फोक्सो सम्बन्धी समस्या भएका ४ जना, एचआइएन एण्ड डिएम सम्बन्धी समस्या भएका ३ जना, इम्पिओ, कम्प्रोका १ र मस्तिष्क सम्बन्धी समस्या भएका १ जना फाइजर खोप लगाएको उनको भनाइ छ । खोप लगाउने मध्ये ९ जना महिला र १० जना पुरुष रहेका छन् ।

जिल्लाको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको भेरी अस्पताललाई खोप केन्द्र तोकेर फाइजर खोप लगाउने स्थान तोेकिएको छ । मंसिर ४ गतेसम्म यो अभियान हुने र क्रमश खोप लगाउने नागरिक बढ्दै जाने उनले अपेक्षा राखेका छन् ।

दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र दिइनेछ । खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पूर्जा लिएर जानुपर्ने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

‘फाइजर खोप लगाउने अभियान सुरु भएको छ । पहिलो दिन १९ जनाले खोप लगाएका छन् । १८ सय जनालाई खोप लगाउने लक्ष्य रहेको छ । तोकिएको समयमा खोप नसकिए । अभियान लम्बिन सक्छ । यदि तोकिए अनुसार खोप लगाए भने सोही दिन सकिन्छ ।’

मिसन टुडे दैनिकसँग कुराकानी गर्दै खोप फोकल पर्सन श्रेष्ठले भने । यो खोप देशभरिका विभिन्न २४ वटा अस्पतालबाट मात्र लगाउन पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो ।

सोही खोप अहिले आएर लगाउन थालिएको हो । यो खोप मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकाहरुले लगाउन पाउँनेछन् ।

यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिकका रक्तनली सम्बन्धी रोग भएकालाई पनि फाइजर खोप दिइने बाँकेका खोप फोकल पर्सन बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २९ गते सोमबार