ब्राउनसुगरसहित युवक पक्राउ



नेपालगन्ज ।

जमुनाहा नाकाबाट प्रहरीले लागु औषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । नेपालगन्ज उप–महानगरपालिका–१५ जमुनाहा नाकाबाट प्रहरीले शनिबार सीमावर्ती बजार रुपैडिहाबाट युवकलाई पक्राउ गरेको हो ।

रुपैडिहाबाट आउँदै गरेका युवकलाई शंका लागेर चेकजाँच गर्ने क्रममा ब्राउनसुगर बरामद भएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर– १० चट्टारका १८ वर्षीय सुदिप चौधरी रहेका छन् ।

उनको साथबाट चेकजाँचका क्रममा १ ग्राम ४० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

चौधरीलाई जमुनाहा प्रहरी र लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलिले पक्राउ गरेको थियो । उनले पेन्टको खल्तीमा लुकाइ नेपाल ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २८ गते आइतबार