जनआन्दोलनका कमान्डर गणेशमान सिंहको सालिक बर्दियाको गुलरियामा अनावरण गरिएको छ । एक कार्यक्रमका बीच नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार गुलरियास्थित जिल्ला प्रहरी कार्यालय नजिककै सालिकको अनावरण गरेका थिए ।
अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले निर्माण सम्पन्न भए पनि सालिकको संरक्षण हुनु पर्ने बताए । ‘सालिक स्थापना गरेर मात्र हुँदैन’ उनले भने, ‘यसको संरक्षण मुख्य कुरा हो । तपाई सबैले यसको संरक्षणमा ध्यान दिनुहोला ।’
नेता सिंहले पार्टीले आर्थिक क्रान्तिको आवश्यकतालाई मनन् गर्नुपर्ने बताए । उनले यसका लागि कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए । स्वर्गीय सिंहको त्याग र बलिदानी स्मरण गर्दै पार्टीलाई संस्थागत गरी अगाडि बढाउन सशक्त र जुझारु नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।
पार्टीले पटक–पटक महाधिवेशनको मिति सार्नुले कांग्रेसको गरिमा माथि नै आँच पुगेको उनले बताए । उनले भने, ‘तोकिएको समयमा अधिवेशन नहुँदा नेपाली कांग्रेस पार्टीले बोलेको काम पूरा गर्छ भन्ने जनतामा रहेको छाप मेटाउने काम भइरहेको छ ।’
नेपाली कांग्रेसको १४ औं महाधिवेशनले वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको भन्दै नेता सिंहले पार्टीमा काम नगर्ने तत्वहरुलाई पाखा लगाउन सुझाव दिए ।
संविधानभन्दा माथि रहेर काम गर्न खोज्दा बहुमतको कम्युनिस्ट सरकार ढलेको बताउँदै ट्रयाकबाट बाहिरिन लागेको संविधान जोगाउन नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको नेता सिंहले दाबी गरे ।
गुलरिया नगरपालिकाको सक्रियता र संघीय सांसद् विकास कोषको २५ लाख र २ लाख श्रमदानबाट सालिक निर्माण भएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्