नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा खटिएका निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराई बाँके आइपुगेका छन् ।
निर्वाचन अधिकृत भट्टराईलाई नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले मंगलबार एक कार्यक्रमका बीच खादा ओढाएर स्वागत गरेकी थिइन् । यही कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडाअधिवेशन सम्पन्न हुनेछन् ।
यस्तै कात्तिक ३० गते गाउँपालिका-नगरपालिका अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते क्षेत्रीय अधिवेशन तथा महाधिवेशन महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला अधिवेशन सम्पन्न हुनेछ । सो अवसरमा बोल्दै निर्वाचन अधिकृत भट्टराईले पार्टीको निर्वाचनलाई सफल पार्ने सबैको दायित्व भएको बताएका थिए ।
‘बाँकेमा अधिवेशन हुनमा केही ढिला भएको छ, तर जे भएको छ, राम्रै भएको छ,’ उनले भने ‘अधिवेशन ढिलो हुँदा अर्कामा माझिने र केही तिक्तता मेटिने काम भएको छ ।’ पार्टीको आन्तरिक निर्वाचन भएकाले धेरै विवाद र मतभेद गर्न आवश्यक नरहेको निर्वाचन अधिकृत भट्टराइको बताए ।
आफुलाई निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीका साथ पार्टीले खटाएको र निश्पक्ष रुपमा जिम्मेवारी पुरा गर्ने उनले दाबी गरे । ‘निर्वाचनको लागि म उपस्थित भएको छु, म भनेको निमित्त पात्र हुँ, निर्वाचन सम्पन्न यहाँहरुले नै गर्ने हो,’ निर्वाचन अधिकृत भट्टराईले भने, ‘म नेपाली कांग्रेसको एउटा सिपाही हुँ, निर्वाचन मलाई पनि चाहिन्छ, तर पार्टीको अधिवेशन यहाँहरुको हो, मलाई भन्दा बढी अधिवेशन यहाँहरुलाई चाहिएको छ ।’
बाँके जिल्लाका समग्र नेपाली कांग्रेसप्रति आवद्ध क्रियाशिल सदस्य, नेतृत्ववर्ग र शुभेच्छुक संस्थाले निर्वाचन सम्पन्न गर्नका लागि आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गरिदिनुपर्ने उनले बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्