आइतबार राती कोहलपुर नेपालगन्ज सडक खण्डको हवल्दारपुरमा युवकको ज्यान लिने कार चालक अझै पक्राउ परेका छैनन् । कोहलपुर नगरपालिका– १४ को हवल्दारपुरमा कोहलपुरबाट नेपालगन्जतर्फ गइरहेको कारको ठक्करबाट स्थानीय एक युवकको मृत्यु भएको थियो ।
बा ०१–०२५ च ८८–३९ नम्बरको स्कोडा कम्पनीको कारको ठक्करबाट स्थानीय ३२ वर्षिय विनोद अधिकारीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । युवकलाई ठक्कर दिएर भागेको कार सोमबार बिहान ईलाका प्रहरी कार्यालय कोहलपुरले राप्ती सोनारी गाउँपालिका– २ हरहरीपुरबाट नियन्त्रणमा लिएको थियो ।
ठक्कर दिने कारलाई नियन्त्रणमा लिएपनि चालकलाई भने प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । कोहलपुर प्रहरी स्रोतका अनुसार कार बरामद भएपछि एकजना आफुले चलाएको बेला कारले हवल्दारपुरमा मानिसलाई ठक्कर दिएको भन्दै प्रहरी कार्यालयमा पुगेका थिए । तर प्रारम्भिक अनुसन्धानबाट ठक्कर दिने बेला कार उक्त मानिसले चलाएको पुष्टि हुन सकेन ।
ती पुरुष नक्कली चालक रहेको खुल्न आएको कोहलपुर प्रहरी स्रोतले जनाएको छ । युवकलाई ठक्कर दिएर भाग्ने कारका धनी सरोज हमाल रहेको भएपनि ठक्कर दिनेबेला छोरा अनिश हमालले चलाएको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
फरार चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अधिकारीको शवं भने सोमबार नै आफन्तहरुले बुझेर अन्तिम संस्कार समेत गरिसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्