मूल्य बढ्दा भारतबाट कुखुरा तस्करी रोकियो



खगेन्द्र दाहाल । नेपालगन्ज ।

भारतमा कुखुराको मूल्य बढेपछि आयात बन्द जस्तै भएको छ ।

भारतमा कुखुराको मूल्य घट्दा अवैध रुपमा लुकाई छिपाई कुखुरा भित्र्ने गर्दथ्यो । अहिले बाँकेमा उत्पादन भएका बोइलर कुखुराले यहाँको माग पूर्ति गरिरहेको व्यवसाय गर्नेहरु बताउँछन् । खुला सीमाका कारण कुखुरा तस्करी हुने गरेको भए पनि एक महिना यता सुरक्षाकर्मीले कुखुरा बरामद गरेको रेकर्ड छैन ।

अहिले या त भारतमा कुखुराको मूल्य बढेको या सीमामा सुरक्षाकर्मीले देखे पनि नदेखेजस्तै गरेकाले एक महिनायता कुखुरा बरामद नभएको स्थानीय व्यवसायी बताउँछन् । यद्यपि भारत र नेपालमा पाइने बोइलर कुखुराको मासुको मूल्य बराबर भएकाले रोकिएको हुनसक्ने पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका निमित्त प्रमुख तथा चेक पोस्ट प्रमुख डा. बिनिता तामाङले जानकारी दिइन् ।

अहिले भारतमा नेपाली ३ सय रुपैयाँ प्रति किलो तयारी मासु पर्ने र नेपालमा पनि ३ सय सम्ममा पाइने भएपछि भारतबाट आउन रोकिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिइन् । बाँकेमा २०७७÷०७८ मा लिइएको तथ्यांक अनुसार कुखुरा ७६८३.९७ मेक्ट्रिक टन वार्षिक उत्पादन हुने गरेको छ ।

विज्ञ केन्द्रका अनुसार बाँकेमा हरेक दिन २१ हजार ५२ केजी कुखुराको मासु उत्पादन हुँदै आएको छ । हरेक दिन खुला नाकाबाट अवैध मानिएको कुखुरा तथा पक्षीजन्य पदार्थ लुकाई छिपाई भित्रने गरेकोमा भारतमा मूल्य बढेसँगै स्वत नियन्त्रण हुन थालेको हो । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको चेक पोष्टमा हरेक दिन बरामद गरिएका कुखुरा नष्ट गर्नका लागि आउने रोकिएपछि सम्बन्धितलाई बुझ्दा भारतमा मूल्य बढेको र सोही अनुसार नेपाली कुखुरा नै व्यापारीले बिक्री गर्न लागेका हुन् ।

बाँकेमा मासु पसलहरुमा अधिकाशले भारतीय कुखुरा ल्याएर बिक्री गर्ने भएपछि मूल्यका कारण उक्त कार्य अहिले रोकिएको छ । बाँकेमा कुखुरा उत्पादन पनि बृद्धि हुँदै गएकाले भारतबाट लुकाई छिपाई ल्याउन आवश्यक नरहेको कुखुरा व्यवसायि संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १३ गते शनिबार