नेपाल सुन चाँदी महासंघका अध्यक्ष स्वर्गीय महर्जनको सम्झनामा श्रद्धाञ्जली सभा



कोहलपुर : नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष स्वर्गीय रमेश महर्जनको सम्झनामा कोहलपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

कार्तिक १ गते निधन भएका महर्जनको सम्झनामा १३ औँ दिन पुण्यतिथिको अवसरमा मध्य तथा सुदूरपश्चिम सुन चाँदी तथा गहना व्यवसायी संघ कोहलपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

सभामा सहभागी बाँकेका सुन चाँदी व्यवसायीहरुले स्वर्गीय महर्जनको तस्वीरमा अविर ग्रहण फूलमाला लगाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

महासंघका संस्थापक समेत रहेका महर्जन देशभरका सुन चाँदी व्यवसायीहरुलाई एकताबद्ध बनाउने अभियानमा थिए ।

उनको निधनले देशभरका व्यवसायीशहरु अभिभावक विहीन भएको महासंघका केन्द्रिय सदस्य तथा बाँके अध्यक्ष देवी लाल सुनारले बताए । उनका अनुसार उनको निधनले सम्पूर्ण व्यवसायीहरुलाई स्तब्ध बनाएको छ ।

यस्तै महासंघका अध्यक्षले कोरोनाका कारण ज्यान गुमाउन परेको भन्दै सम्पूर्ण व्यवसायीहरुलाई सुरक्षित रहन उनले आग्रह समेत गरेका थिए ।

उक्त अवसरमा बोल्दै महासंघका वरिष्ठ सल्लाहकार मान बहादुर सुनारले अध्यक्षको निधनले महासंघका भावी योजनामा गम्भीर धक्का पुगेको बताएका थिए । स्वर्गीय महर्जनको वि.स. २०२१ साल मंसिर ८ गते ललितपुरमा जन्म भएको थियो । उनका एक छोरा,दुई छोरी र श्रीमती छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १३ गते शनिबार