दाङको लमही नगरपालिकाको मातहतमा रहेको लमही अस्पताललाई लुम्बिनी प्रदेश सरकारको मातहत लैजाने तयारी गरिएको छ ।
स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले लमही अस्पताललाई लुम्बिनी प्रदेश सरकारको मातहतमा लैजाने तयारी भएको बताएका हुन् । अहिले उक्त अस्पताल नगरपालिका अन्तर्गत सञ्चालन हुँदै आएको छ ।
मन्त्री थारुका अनुसार प्रदेश सरकार मातहत एक प्रदेशमा एक ठूलो अस्पताल बनाउने नीतिअनुसार प्रदेश मातहत लिन लागिएको हो । ‘मैले सुरुदेखि नै लमही अस्पताललाई प्रदेश सरकारको मातहत राख्नुपर्छ भनेको थिए । मन्त्री हुनुभन्दा अघि संसदमा पनि यस विषयमा बोलेको हुँ ।’ उनले भने– ‘स्थानीय तहको मातहतमा रहदा अस्पतालको सेवा सबै खस्किएको छ ।
सबै कामकाजदेखि अस्पतालबाट प्रदान गरिने सेवा सबै लथालिङ्ग छन् । अहिले देउखुरी कै केन्द्र विन्दु मानिने लमही अस्पताललाई थप विकास गर्नको लागि यस्तो तयारी गरिएको हो ।’ लमही नगरपालिकाले राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै लुम्बिनी प्रदेश सरकारले आफ्नो मातहतमा तत्काल लैजाने तयारी गरेको पनि मन्त्री थारुले स्पष्ट पारे ।
पूर्वपश्चिम राजमार्गमा रहेको देउखुरी क्षेत्रकै केन्द्र विन्दु मानिने पन्ध्र बेडको लमही अस्पताल लुम्बिनी प्रदेश सरकारको मातहतमा लैजाने तयारी भएपछि देउखुरीबासीले खुसी भएका छन् ।
स्रोतसाधन र पूर्वाधार विकासको हिसाबले अस्पतालले राम्रो प्रगति नगरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए । यता लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले अस्पतालको विकासको लागि आफु सधै सकारात्मक भएको बताए ।










प्रतिक्रिया दिनुहोस्