नेपालगन्ज । मौसम परिवर्तन भइरहेकै बेलामा बाँकेमा रहेका विभिन्न अस्पतालहरुमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्दै जान थालेका छन् । कोरोना संक्रमितको संख्या न्यून रहेको बेला जिल्लाका अस्पतालहरुमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका हुन् । भाइरल ज्वरो, रुघाखोकी र टाइफाइडका बिरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
अहिले गर्मी समाप्त भएर चिसो मौसम आउने समय रहेकोले ज्वरो, रुघाखोकी र टाइफाइडका बिरामीको संख्या अत्यधिक बढेको भेरी अस्पताल नेपालगन्जका प्रवक्ता डा.सङ्केतकुमार रिसालले जानकारी
दिए ।
‘अहिले कोरोनाका बिरामी निकै कम भइसकेका छन्’ उनले भने, ‘अस्पतालमा भाइरल ज्वरोका बिरामी भने धेरै बढेको केही दिनयता देखिन्छ ।’ भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर, सिद्धार्थ अस्पताल, स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरु बिरामीहरु बढेका हुन् । अस्पताल तथा स्वास्थ्य चौकीहरुमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिँगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिने बिरामीहरु आइरहेका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा. आसिम किदवाइले अहिले दैनिक ५० देखि १०० को हाराहारीमा ज्वरो, रुघाखोकी र टाइफाइडका बिरामी शिक्षण अस्पतालमा आउने गरेको जानकारी दिए ।
तीमध्ये अधिकांशलाई टाइफाइड देखिने गरेको हुँदा कोभिडको जोखिमसँगै अन्य जोखिम पनि रहेकोले सचेतना अपनाउन उनले आग्रह समेत सबैलाई गरे । यसैबीच बालबालिका र वृद्धवृद्धामा बढी भाइरल ज्वरोको प्रकोप बढेपछि घरघरमा बिरामीको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका अनुसार अस्पताल र क्लिनिकहरूमा समेत ज्वरो र टाइफाइडका बिरामीको संख्या बढेको छ । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा उचित ध्यान नपु¥याउँदा भाइरल ज्वरोको बिरामी बढेको चिकित्सकहरूको बताएका छन् । भाइरल ज्वरो ३ देखि ५ दिनसम्म आफैँ निको हुने मान्यता रहे पनि हाल निको हुन ७ दिन पनि लाग्ने गरेको बताइन्छ । जिल्लाका अस्पतालहरुमा बाँकेका मात्र नभएर बाहिरी जिल्लाबाट समेत बिरामीहरु आउने गरेको अस्पतालहरुले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्