सुतैयाँमा अवरुद्ध राजमार्ग खुल्यो, घटनास्थलबाट प्रहरीले शव उठायो



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका, ४ सुतैयाँमा अवरुद्ध गरिएको कोहलपुर सुर्खेत रत्न राजमार्ग साढे २ बजेबाट सञ्चालनमा आएको छ । स्थानीय एक महिलाको करेन्ट लागेर मृत्यु भएपछि स्थानीयहरुले बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध पारेका थिए ।

विद्यूत प्राधिकरण, जनप्रतिनिधि र पीडित पक्षबीच वार्ता भएर सहमती भएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

बारीमा तरकारीको लागि बोडि टिप्न गएका बेला हावाहुरीका कारण भूमिका झरेको तारमा करेन्ट लागेर बर्दिया घर भई सुतैयाँमा रहेको छोरीको घरमा बस्ने इन्द्रमाया देवी कवरको मृत्यु भएको थियो ।

घटनालगत्तै स्थानीयहरु मृतकका परिवारलाई उचित क्षतीपूर्तीको माग राख्दै रत्न राजमार्ग अवरुद्ध पारेका थिए । करेन्ट लागेर केही सामान्य घाईते समेत भएका छन् ।

उनीहरुलाई मृतक महिलालाई उठाउँन खोज्दा करेन्ट लागेको थियो । सहमती भएसँगै घटनास्थलबाट कोहलपुर प्रहरीले मुचुल्का गरेर मृतकको शव समेत उठाएर पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगन्जमा पठाएको छ ।

आन्दोलित भएका स्थानीयहरुले घटनास्थलबाट प्रहरीलाई मृतक महिलाको शव समेत उठाउन दिएका थिएनन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार