नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लाका सबै पत्रकारहरुको दुर्घटना बीमा गरिदिएको छ ।
बाँके शाखाले जिल्लाका ३५३ जना पत्रकारहरुको दुर्घटना बीमा गरिदिएको हो । शुक्रबार नेपालगन्जमा भएको एक कार्यक्रमका बीच सगरमाथा इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक गोविन्द उपाध्याय र महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीबीच दुर्घटना बीमा पोलिसीमा सम्झौता भएको थियो ।
२ लाख रुपैयाँ बराबरको बीमा महासंघले सगरमाथा इन्स्योरेन्स कम्पनीमा गरिदिएको हो । सगरमाथा इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक उपाध्यायले सबैको बीमा पोलिसी महासंघ बाँकेका अध्यक्ष भण्डारीलाई प्रदान गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले चितवनपछि बाँके शाखाले पत्रकारहरुको दुर्घटना बीमा गरिदिएको बताए ।
‘यो बीमा कार्यक्रमलाई दशैंको उपहार, कोशेलीका रुपमा स्वीकार गर्न महासंघका सबै सदस्यहरुलाई अनुरोध गर्दछु’ उनले भने, ‘बीमा रकम भुक्तानीमा कम्पनीले सहज वातावरण बनाउनुपर्छ ।’ कोरोना बीमा गरेका पत्रकारहरुको बीमा दाबी भुक्तानीका लागी महासंघले लिखित, मौखिक रुपमा सहकार्य गर्ने निकायहरुलाई अनुरोध गरेको उनले जानकारी दिए ।
पत्रकार लाइसेन्सको बिषय अहिले ठूलो सैद्धान्तिक बहस बनीरहेकाले अहिल्यै टुङ्गोमा पुग्न नसकिने अध्यक्ष पोखरेलले बताए । ‘सञ्चार संस्थाहरु श्रमशोषण गर्ने थलो नबनाइयोस्’ उनले भने, ‘पत्रकार आचारसंहितालाई गुरुमन्त्रका रुपमा लिई अनुशासित, नैतिकतालाई आत्मसाथ गरी काम गर्न पनि बाँकेका पत्रकार, सञ्चारकर्मीलाई आग्रह गर्छु ।’
महासंघ बाँकेका अध्यक्ष भण्डारीले पत्रकारको आडमा बार्गेनिङ्ग गर्ने, सामाजिक सञ्जाल लगायतमा जथाभाबी लेख्ने र पत्रकार आचारसंहिता बाहिर गएर मनोमानी गर्ने कार्य बढिरहेकाले यसमा महासंघले निगरानी गरिरहेको बताए । ‘काम गर्दा गर्दै नबुझेर महासंघका विषयमा सामाजिक सञ्जालमा नलेखौं, यसले साथीहरुलाई हतोत्साहित बनाइरहेको छ’ उनले भने, ‘आचारसंहिता भन्दा बाहिर गएर समाचार नलेख्नुहोस्, त्यसो गरिएको पाइएमा महासंघ कडारुपमा अघि बढ्छ ।’
महासंघ बाँके शाखामा आबद्ध ३२३ जना पत्रकारसहित जम्मा ३५३ जना पत्रकारहरुको दुई लाख रुपैयाँको दुर्घटना बीमा गरिएको शाखाका सह–सचिव कृष्ण ओलीले जानकारी दिए । सोही अवसरमा कोरोनाको समयमा पत्रकार महासंघ बाँके तथा जिल्लाका पत्रकारहरुलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको शाखाका सचिव कमल डाँगीले बताए ।










प्रतिक्रिया दिनुहोस्