अमिलियामा देखिन थाले चितुवा र बाघ: स्थानीय गाउँमा त्रास फैलियो



शिवु खनाल । दाङ ।

बाँके राष्ट्रिय निकुञ्ज र सीमावर्ती क्षेत्र अमिलिया वन आसपासका सामुदायिक वनमा दिनहुँ चितुवा र पाटेबाघ देखिन थालेको छ ।

दिनहुँ चितुवा र पाटेबाघ देखिन थालेपछि नजिकैका गाउँहरूमा त्रास फैलिएको हो । घाँस दाउरा लिन, गाईवस्तु चराउन निकुञ्जसँग जोडिएका सामुदायिक वनमा कामले पुग्ने मानिसहरू चितुवा र बाघले आक्रमण गर्नसक्ने भन्दै त्रास भएका हुन् ।

केही दिनयता लमही नगरपालिका वडा नम्बर ९ अमिलिया नजिकका बस्तीहरूमा चितुवा र बाघ राजमार्गमै देखा पर्न थालेका छन् । चितुवा र पाटेबाघले आक्रमण गर्न सक्ने भन्दै अमिलिया, बाङ्गेताल, जलकुण्डी, हात्तिखाल, हर्दवा, रिहार, घोयली लगायतका बस्तीमा त्रास बढ्दै गएको हो ।

उनीहरूले कुनै पनि अप्रिय घटना घट्नु भन्दा पहिले नै चितुवा र बाघलाई नियन्त्रणमा लिन माग गर्दै आएका छन् । ‘पहिला पहिला हात्ती गैंडाको डर थियो । पछिल्ला दिनहरूमा चितुवा र बाघको डर थपियो ।

साँझ पख घरबाहिर निस्कन, घाँस दाउरा गर्न, गाईवस्तु चराउन जाँदा पनि डराउनुपर्ने अवस्था आयो, स्थानीय पूर्णबहादुर बस्नेतले भने, ‘जंगली जनावरलाई नियन्त्रणमा लिएर चिडियाखाना वा अन्यत्र राख्ने व्यवस्था मिलाउनुपर्छ ।’

यता चितुवा र बाघले आक्रमण गर्नसक्ने भनेर डिभिजन वन कर्यालय दाङ देउखुरी लमहीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । दिनहुँ चितुवा र बाघ राजमार्गमा देखिन थालेपछि डिभिजन वन कार्यालय लमहीले सूचना जारी गरी जंगलमा घाँस–दाउरा काट्न नजान आग्रह गरेको हो । जंगलमा जानै परे समूहमा जान वन आग्रह गरेको छ ।

राजमार्ग किनारामा चितुवा र बाघको आक्रमण हुने सक्ने जोखिम बढेसँगै गत आइतबारदेखि राजमार्गमा मोटरसाईकल, साइकल र पैदल यात्रुलाई बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म आवतजावत गर्न रोक लगाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रबार