सुर्खेत ।
कर्णाली प्रदेशका सबै जिल्लामा दशैं, तिहार, छठलाई लक्षित गरी ‘चाडपर्व विषेश सुरक्षा योजना’ लागू गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले दशैं, तिहार, छठलाई लक्षित गरी ‘चाडपर्व विषेश सुरक्षा योजना’ प्रदेशका सबै जिल्लामा लागू गरेको हो ।
नेपालीहरूका ठूला चाडपर्वमा देखापर्न सक्ने सुरक्षा चुनौतीलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) माधव श्रेष्ठले बताए ।
‘चाडपर्व विषेश सुरक्षा योजना’ अनुसार सीमा नाकामा कुकुर परिचालन गर्नेदेखि प्रदेशका राजमार्गमा स्कर्टिङ मोवाईल गस्ती र तत्काल रेस्पोन्स टिम परिचालन हुनेछन् ।
चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा पारिएको एसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेशका १० जिल्लामा चार हजार ३५१ जना सुरक्षाकर्मी खटाइएको छ । ‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं,’ एसपी श्रेष्ठले भने, ‘प्रदेशका १४४ स्थानमा क्यूआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गरिनेछ ।’
चाडपर्वको अवधिभर प्रदेशका ३८७ स्थानमा पिकेट, राजमार्गमा स्कर्टिङ मोवाईल गस्ती र पैदल गस्ती गरिने बताइएको छ । १२९ स्थानमा नियमित चेक प्वाइन्ट ड्युटी, ४६ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ, ७० स्थानमा झै–झगडा, चोरी लुटपाट, मापसे नियन्त्रण टिम परिचालन र १८ स्थानमा विशेष चेकिङ (लामो दुरिको सवारी चेकिङ) गरिने एसपी श्रेष्ठ बताउँछन् ।
चाडपर्व अवधिभर अपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयसहित प्रत्येक जिल्लामा एक÷एक वटा ‘कमाण्ड सेन्टर’को समेत स्थापना गरिएको छ । कर्णाली प्रदेश प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिममा हुने स्थानहरू पनि छुट्टयाएको छ । जसलाई मध्यनजर गरेर सुरक्षा योजना तयार पारिएको हो ।
‘बैंक वित्तीय संस्थाहरूमा चोरी, लुटपाट हुन सक्छ,’ एसपी श्रेष्ठले भने, ‘सामान किनबेच हुने स्थानहरूमा अत्यधिक भिडभाड भइ असुविधा हुनसक्छ त्यसतर्फ पनि हामी सचेत छौं ।’ उनका अनुसार चाडपर्वको समयमा सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरू, मठ मन्दिर र गुम्बा रहेको स्थान सुरक्षा जोखिममा हुन्छन् ।
‘त्यस्तै नाकादेखि लिएर होटल, रेष्टुरेन्ट, राजमार्ग तथा ग्रामीण वस्ती र भीआईपी मुभमेन्ट हुने क्षेत्रलाई पनि हामीले विशेष प्रायोरिटी दिएर प्रहरी परिचालन गरेका छौं,’ उनले भने । यस्तै प्रहरीले प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिर जाने यात्रुलाई सहजताका लागि प्रदेशका ३८ स्थानमा सहायता कक्ष राखेको छ ।
प्रदेश प्रहरीका अनुसार १० जिल्लाका जिल्ला सदरमुकाम र प्रदेश राजधानी वीरेन्द्रनगर लगायतका क्षेत्रमा हेल्प डेस्क राखिएको छ । अपराध हुन नदिने वैज्ञानिक उपकरणको समेत प्रयोग गरिएको बताइएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरका मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, जिल्ला सदरमुकामका बजार क्षेत्रमा क्लोज सर्किट (सीसी) क्यामेराबाट निगरानी भइरहेको एसपी श्रेष्ठले जानकारी दिए । त्यस्तै राजमार्ग स्कर्टिङ, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालनलगायतमा प्रहरी खटिने छन् ।
‘बढी भीड हुने ३८ स्थानमा यात्रु सहायता कक्ष तयार गरिएको छ,’ उनले भने, ‘तोकिएको दरभन्दा बढी भाडा लिएर यात्रु ठग्नेलाई कारबाही गछौं ।’ यसैबीच चाडपर्वका बेला सीमा नाकालाई लक्षित गर्दै कडाइको नीति लिएको प्रहरीले जनाएको छ ।
सीमा नाका तथा अपराधिक गतिविधि हुन सक्ने संवेदनशील स्थानहरूमा कुकुरसहितको चेकिङको व्यवस्था मिलाइएको छ । सीमा नाकामा यात्रु ठगिने तथा लागूऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर परिचालन गर्ने योजना बनाइएको एसपी श्रेष्ठले बताए ।
प्रदेशका तीन मुख्य नाका सल्यानको कपुरकोट, सुर्खेतको बबई र कुइनेको ९ वटा स्थानमा हेल्प डेस्क सहित चेकजाँच गरिनेछ । अपराध तथा सवारी दुर्घटना नियन्त्रणको लागि नियमित र आकस्मिक चेक प्वाइन्ट, मोबाइल, पैदल र मोटर साइकल गस्ति गरिने सुरक्षा योजनामा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्