तराई क्षेत्रका किसानलाई मानो रोपेर मुरी भित्र्याउने चटारो लागेको छ । छिटो पाक्ने धान रोपेका किसानहरु अहिले धान काट्न थालेका छन् । वर्षभरीको घरखर्च जोहो गर्ने र केही जोगाएर बालबच्चा पढाउने अपेक्षाका साथ किसान यतिबेला धान भित्र्याउने थालेका हुन् ।
लमही नगरपालिका वडा नम्बर ८ सतवरीयाका किसान मंगल चौधरीले एकैदिन एक्लैले एक बिघा भन्दा बढी जग्गामा लगाएको धान काटेर सिध्याए । विगतका वर्षमा चौधरीले मजदुर खोजेर धान काट्न लगाउँथे । तर, यसपाली उनले मेसिन ल्याएका छन् । मेसिन ल्याएपछि उनलाई धान काट्ने मान्छे लगाउने आवश्यकता नै परेन । यसवर्ष उनलाई धान काट्नका लागि मजदुरको साटो रिपर मेसिन ल्याउनुपरेको थियो ।
मजदुर लगाउँदा ढिलो हुने र काट्दाकाट्दै पानी पर्नसक्ने भएकाले धान खेतमै कुहिने चिन्ता हुन्थ्यो । तर, मेसिन ल्याएपछि उनी एक्लैले मेसिनको सहायतामा एक बिघाभन्दा बढी धान एकैदिन काट्न भ्याएका हुन् । यतिबेला दाङसहित देउखुरीका अधिकांश सबै कृषकहरु धान काट्न व्यस्त देखिन्छन् ।
खेतमा पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि कृषकलाई छिटो र सजिलो भएको किसान चौधरी बताउँछन् । यतिबेला सबै किसानलाई धान काट्ने चटारो छ ।
धान पाकेर सुन जस्तै पहँेलिएको खेतलाई किसानले विभिन्न मेसिनको सहयोगमा काट्न थालेका छन् । ‘विगतका वर्षमा हप्ता दिनसम्म हातले थोरैथोरै धान काट्ने गरेका किसान अहिले एकै दिनमा मेसिनको प्रयोगले धेरै धान काट्न थालेँ,’ चौधरी भन्छन्, ‘आजभोलि धान काट्ने मेसिन रिपरको सहायताले धान काटिरहेका छन् ।
धान खेती गर्ने किसानलाई मेसिन भित्रिएपछि सजिलो भएको छ ।’ एक सातामासम्म गरिने काम आजभोलि एक दिनमै सकिन थालेको छ । ‘रिपरको सहायतामा धान काट्दा एक घण्टामा एक बिघा धान काट्न सकिन्छ,’ चौधरीले भने । धेरै खेतीपाती गरेका किसानलाई धान काट्नका लागि धेरै जनशक्ति चाहिने गरेको अवस्थामा रिपरले अहिले धेरै सहज बनाएको गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवाका किसान खुसिराम चौधरीले बताए ।
‘रिपरको सहयोगमा धान काट्दा श्रमशक्ति खोज्ने झन्झट कम हुन्छ । धान काट्न लागतसमेत कम लाग्ने भएकाले धान कटाइमा रिपरको सहायताले धेरै सहज भएको छ,’ उनले भने । कृषि क्षेत्रमा मेसिनरी सामग्री भित्रिएपछि खेती गर्न चाहने कृषकलाई सजिलो भएको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयाका किसान रामप्रसाद यादवले बताए ।
उनले खेत जोत्न, धान काट्न लगायत सबै काम गर्न मेसिनको सहयोगबाट गर्दै आएको सुनाए । अहिले मेसिनका कारण जनशक्ति र खर्च पनि कम हुँदै गएको उनको भनाइ छ ।
‘मौसम हेरेर धान काटियो, अब मजदुर लगाएर धान उठाएर खेतमै दाउने योजना छ’, उनी भन्छन्, ‘छिटो काम सके ढुक्क हुन्छ भनेर मेसिन ल्याएर धान काटेको हुँ ।’ रिपरले एक घण्टामा एक बिघा क्षेत्रफलको धान काट्न सक्छ । यसका लागि थोरै जनशक्ति खेतमा परिचालन भए पुग्छ ।
रिपरको सहायताले धान काट्दा काम छिटो र समयमा सम्पन्न हुने भएकोले मौसमबाट हुने जोखिमसमेत कम हुने गरेको छ । यता राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदी निवासी सिता चौधरीले लागत कम र सहज भएकाले धान काट्न मेसिनकै सहयोग लिन थालेका बताए ।










प्रतिक्रिया दिनुहोस्