कोहलपुर ।
भारतको उत्तरप्रदेशको लखीमपुर जिल्लाको मुख्यालयभन्दा करिब ७५ किलोमिटर दूरीमा नेपाल सीमासँग जोडिएको तिकुनियाँ गाउँमा भएको हिंसा र आगजनीमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । जसमा चार किसान र चार अन्य मानिस रहेका छन् । चार अन्यमध्ये पनि दुई जना भाजपाका कार्यकर्ता रहेका छन् भने दुई जना सवारी चालक रहेका छन् ।
यसका साथै करिब दुई दर्जनजति घाइते भएका छन् । मृत्यु हुने किसानहरुमा ३५ वर्षीय दलजीत सिंह, १८ वर्षीय गुरवेन्द्र सिंह, २० वर्षीय लवप्रीत सिंह र ५५ वर्षीय नक्षत्र सिंह रहेका छन् । तिकुनियाँको यस घटनामा एक पत्रकारको पनि मृत्यु भएको छ । स्थानीय साधना समाचार च्यानलमा कार्यरत निघासन संवाददाता रतन कश्यप पनि समाचार कभरेजका क्रममा मृत्यु भएको छ ।
उनी भाजपासँग पनि आवद्ध थिए । गाडीको ठक्करबाट कश्यपको मृत्यु भएको हो । मारिएका सिकानको शवलाई लिएर प्रदर्शन गरिरहेका किसान संगठनले प्रशासनसमक्ष चारवटा माग राखेका छन् । केही मागमा सहमति पनि भएको छ ।
मृतक किसानका परिवारलाई रोजगारी, आठ दिनमा आरोपीलाई नियन्त्रणमा लिने, मृतकका परिवारलाई क्षतिपूर्ति वापत ४५ लाख भारतीय रुपैयाँ र घाइतेलाई १० लाख भारतीय रुपैयाँ मागसहित न्यायिक समितिमार्फत छानबिन गर्नुपर्ने विषयमा सहमति भएको छ । उत्तरप्रदेश प्रहरीका एडीजी, ल एण्ड अर्डर प्रशान्त कुमार र भारतीय किसान युनियनका नेता राकेश टिकैतले संयुक्त पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिएका हुन् ।
कसरी भयो तिकुनियाँ हिंसाको सुरुवात ?
३ अक्टुबरमा उत्तर प्रदेशका मुख्यमन्त्री केशव प्रसाद मौर्य पहिल्यैदेखि तय भएको कार्यक्रमअनुसार लखीमपुरको खिरी यात्रामा थिए । जहाँ जिल्लाको बन्दन गार्डेनमा उनलाई सरकारी योजनाको शिलान्यास गर्नु थियो । यस कार्यक्रमका लागि पहिले हेलिकप्टरमा जाने योजना
थियो । तर, शनिबार बिहानै प्रोटोकल परिवर्तन गर्दै सडकमार्फत मौर्य लखीमपुर पुगे ।
संयुक्त किसान मोर्चाले मुख्यमन्त्री र केन्द्रीय गृहराज्यमन्त्री अज मिश्र टेनीको विरोध र नाराबाजी गर्र्दै घेराउको आह्वान गरे । लखीमपुर र उत्तर प्रदेशका तराई क्षेत्रका दोस्रो जिल्लाका किसानहरुलाई पनि सहभागी हुन अनुरोध गरियो । करिब दुई बजेतिर केशवप्रसाद मौर्य र अजय मिश्र लखीमपुर जिल्लाको मुख्यालयबाट योजनाको शिलान्याश कार्यक्रम सम्पन्न गरेर नेपाल सीमामा अवस्थित टेनीको गाउँ बनवीरपुरका लागि प्रस्थान गरे । तिनकुनियाबाट मात्र चार किलोमिटरको दूरीमा रहेको छ ।
तिनकुनियाँको एक आधारभूत विद्यालयमा २ अक्टुबरमा भएको कुस्ती प्रतिस्पर्धामा विजेता भएकालाई पुरस्कार वितरण कार्यक्रम थियो । अजय मिश्रलाई केन्द्रीय मन्त्री बनाइएको सम्मानमा यसपटक उक्त कार्यक्रम भव्यमय बनाइएको थियो । यसकारण मुख्यमन्त्री मौर्य पनि प्रमुख अतिथिका रुपमा आमन्त्रित थिए । तर, स्थानीय किसानले मन्त्री मिश्र टेनीको विरोध गर्ने तयारी गरिरहेका थिए ।
केही दिनअघि लखीमपुरको सम्पूर्णकार नगरमा एक किसान सम्मेलनमा अजय मिश्रले मञ्चमा किसानलाई चेतावनी दिएका थिए । उनले कालो झण्डा देखाउने किसानलाई धम्की र चेतावनी दिँदै भनेका थिए, ‘म केवल केन्द्रीय मन्त्री या विधायक मात्रै होइन । म विधायक या सांसद बन्नुअघि मलाई चिन्दथे उनीहरुलाई थाहै होला म कुनै चुनौतीसँग डराउँदिन । जुन दिन मैले यस्ता चुनौती स्वीकार गर्दै काम गर्छु त्यो दिन पलिया मात्रै होइन, लखीमपुर पनि छाडेर जानुपर्ने अवस्था आउनसक्छ । यति याद गर्नु ।’
यस्तो बयानपछि किसान आक्रोशित बनेका थिए । २९ सेप्टेम्बरमा किसानले लखीमपुर र खैरटिया गाउँको एक प्रतिज्ञा समारोहमा भएको शान्तिपूर्ण तरिकाले आफ्नो विरोध जनाउने बताएका घोषणा गरेका थिए । आइतबार बिहानै सयौं किसान तिकुनियाँको महाराजा अग्रसेन इन्टर कलेजमा पुगे र स्कुलमा हेलिप्याड नै घेरे । उनीहरुले भारत माताकी जय भन्दै नारा लगाउँदै मन्त्री मिश्रविरुद्ध कालो झण्डा देखाउन सुरु गरे ।
पछि मन्त्री सडकमार्फत गाउँ पुग्दैछन् भन्ने खबर पाएपछि किसानले तिकुनियाँदेखि बनवीरपुरको सीमामा गाडीले तेस्र्याउँदै बाटो बन्द गरे । करिब दिउँसो दुई बजेतिर तीन गाडीको सानो लस्कर तिकुनियाँ गाउँ पुग्यो । अजय मिश्र टेनी र उनका छोरा आशीष मिश्रका अनुसार उक्त गाडीहरु मुख्यमन्त्रीलाई लिनका लागि जाँदै थिए । किसान सरकारी सवारी कुरिरहेका थिए ।
संयुक्त किसान मोर्चाका नेताका अनुसार बाटोमा तिव्र गतिमा गाडी कुदाउँदै किसानमाथि नै चढाइयो । घटनास्थलमै चार जना किसानको ज्यान गयो । घटनापछि सामाजिक सञ्जालमा राखिएको भिडियोमा एक दुई किसानको शव सडक किनारामा देखिन्छ । किसान नेताले मन्त्रीको छोरा त्यसबेला गाडीमै रहेको आरोप लगाएका छन् । साथै किसानलाई मन्त्रीका छोरा आशीसले नै गोली पनि चलाएको बताएको छन् । प्रदर्शनमा सहभागी र घटनाका प्रत्यक्षदर्शी संयुक्त मोर्चाका सदस्य पिन्डर सिंह सिद्धुले भने, ‘सबै माहोल ठिक थियो ।
करिब ढाई बजेरित अजय मिश्राका छोरा केही गुण्डाहरुको साथ आए र जुन किसान झण्डासहित विरोधका लागि बसेका थिए उनीमाथि गाडी नै चढाइदिए । पछि किसानमाथि मन्त्रीका छोराले गोली पनि चलाए ।’ जुन किसानले चार भोट दिए, उनैको शरीरमाथि गाडी चढाइएको सिद्धुले बताए । ‘जसले उनैलाई मन्त्रीसम्म पुग्नका लागि भोट दिए, उनकै प्रदर्शनमा गाडी चढाउनु कहाँको संस्कृति हो ।
यो सत्ताको नशा हो । मन्त्री अजय मिश्रले जुन चुनौती दिएका थिए । त्यो पूरा गरे’, उनले भने । यद्यपी अजय मिश्रका छोरा यो आरोप इन्कार गरेका छन् । उनले आफूलाई निर्दोश सावित गर्नका लागि सबुत पेश गर्ने बताएका छन् । तर, भाइरल भिडियोमा किसानको हिंसात्मक प्रतिक्रिया पनि कैद भएको छ । भिडियोमा आक्रोशित एक भीड जीपमा लाठी बर्साउँदै गरेका छन् । गाडीबाट बाहिर निस्किएका दुई जनालाई कुटपिट पनि गरेका छन् ।
भीडले गाडीलाई धकेल्दै सडकबाट तलतिर धकेल्दै गरेको पनि देखिन्छ । यस हिंसाको हमलापछिको केही भयानक तस्वीरहरु कैद छन् । जसमा सडक किनारमा दुई शव थिए र उनको वरीपरी किसानहरु उभिएका थिए । मन्त्री र उनका छोरा आशीष मिश्र बचाउनमा हरकोशिस गरिरहेका छन् । उनीहरु भन्छन्, ‘हाम्रै कार्यकर्ताको हत्या भएको छ ।
तपाई हामीलाई भन्नुहुन्छ कि किसानमाथि किन गाडी चढाइयोे ? हामीलाई यस्तो घटना हुन्छ कुनै जानकारी नै थिएन । कालोझण्डा देखाउँदै फर्किन्छन् भन्ने लागेको थियो । हत्यासम्म होला भन्ने सोचेकै थिएनौं ।’ आफ्नो बचाउमा सफाई दिँदै मन्त्री मिश्रले भने, ‘मैले किसानविरुद्ध कुनै कुरा भनेको छैन । मात्र होर्डिङ बोर्ड च्यात्नेका विरुद्ध भनेको थिएँ ।
केही ? मानिसहरु यस देशका अशान्ति फैलाउन चाहन्छन् । उनीहरुलाई पनि किसानसँग जोड्ने प्रयास गरिँदैछ ।’ आन्दोलन गर्ने मानिसहरु बाहिरबाट बोलाइएको र आफ्ना कार्यकर्तामाथि नै आक्रमण गरिएको मन्त्री मिश्रले आरोप लगाएका छन् । उनी आन्दोलनकारीविरुद्ध मुर्दा दर्ता गर्ने चेतावनी पनि दिएका छन् । –एजेन्सीको सहयोगमा









प्रतिक्रिया दिनुहोस्