कर्णालीकी चेली पञ्चाको अखिलको नेतृत्वमा संघर्षमय उडान !



शुभाकर विश्वकर्मा । कोहलपुर ।

अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक महिला अध्यक्ष बनेकी छन्, पञ्चा सिंह । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)की उपाध्यक्ष रहेकी सिंह पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन् ।

अखिल क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, पञ्चा सिंह, विजय गौतम, तीलकराज भण्डारी र दीपक देवकोटाले आकांक्षा देखाएका थिए । तर, अन्तिममा सिंहको नाममा सहमति भएको हो ।

माओवादी केन्द्रको शनिबारको बैठकले क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा दाहाललाई दिएको थियो । आइतबार उनले विद्यार्थी नेतृ सिंहलाई अध्यक्ष भएको निर्णय सुनाएका हुन् । अरु प्रत्यासीहरूलाई भने पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्दै व्यवस्थापन गरेको छन् ।

प्रचण्डको सो निर्णयसँगै अखिल क्रान्तिकारी विद्यार्थी संगठनको इतिहासमा महिला अध्यक्ष बनेर पञ्चा सिंहले ऐतिहासिक रेकर्ड राखेकी छन् । अन्नतः उनी पाँच पुष दाबेदारलाई पछारेर नेतृत्वमा पुग्न सफल भइन् । यस्ता अध्यक्ष दाहालले निवर्तमान अध्यक्ष रन्जित तामाङ सहित अध्यक्षका दाबेदार विद्यार्थी नेताहरूलाई पार्टीको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओबादी) केन्द्र कर्णाली प्रदेश सदस्य सिंह अर्थमन्त्री जर्नादन शर्मा निकट मानिन्छिन् । अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुनेछ ।

को हुन् पञ्चा सिंह ?

सिंह कालिकोट जिल्लाको महावु गाउँपालिका–४ सिमखेतकी स्थायी बासिन्दा हुन् । उनका सपता स्यानु सिंह र माता कमला सिंह हुन् । एक सम्पन्नशाली परिवारमा चार सन्तानको निधनपछि पञ्चानको जन्म भएको हो । पाँचौ सन्तानको रुपमा पञ्चा जन्मिइन् । विकट कालिकोटमा जन्मे हुर्केकी उनले घरायसी काम भने गर्न परेन । सिंहको परिवार कांग्रेस थियो ।

स्यानु स्थानीय विद्यालयका हेडमास्टर । स्थानीय स्तरमा उनका बुवा कांगे्रसको राजनीतिमा सक्रिय थिए । त्यतिबेला सिमखेत नेपाली कांग्रेसको आधार इलाका थियो । उनीहरूकै दबदबा हुन्थ्यो । सानै उमेरमा कांग्रेस परिवारको थिचोमिचो, विभेद र असमनता प्रत्यक्ष रुपमा भोगिन्, उनले । जुन कुरा उनलाई फिटिक्कै मन परेको थिएन ।

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह « Khabarhub

अर्कातिर त्यतिबेला माओवादी आन्दोलनको राँको गाउँगाउँमा सल्किसकेको थियो । विद्यालय उमेरमै उनले घरभित्रको कांग्रेसको पञ्चायतीपन र बाहिरी रुपमा माओवादी आन्दोलनबारे जानकारी लिने मौका पाइन् । विकट र पछौटेपनको शिकार भइरहेको कर्णाली क्षेत्रमा चलिरहेको द्वन्द्व र उनीहरूले उठाएका मुद्दाबाट प्रभावित भएर आफूले माओवादी रोजेको उनले बताउने गरेकी छन् ।

१४ वर्षको कलिलो उमेरमा उनको मनमा आन्दोलनको ज्वारभाटा निस्कियो । विसं २०५८ जेठ २१ गते उनी भूमिगत भइन्, मृत्यु या मुक्ति रोजेर । पछि उनी माओवादीको पूर्णकालीन सदस्य बनिन् ।

त्यतिबेला उनी कालिकोटबाट भागेर तत्कालीन कर्णाली अञ्चल सदरमुकाम जुम्ला पुगेकी थिइन् । कांग्रेस परिवारबाट माओवादी आन्दोलनमा होमिएकी उनी सुरुमा पार्टीले आफूलाई विश्वास नै नगरेको र पार्टी कमिटीमा समेत जिम्मेवारी नदिएका दिन सम्झिन्छिन् । घर, गाउँभित्रको पञ्चायतीपनबाट आजित भएर क्रान्ति रोजेकी उनी पार्टीभित्रको त्यस्तो व्यवहारले झन् क्रान्तिकारी भइन् । ‘मृत्यु या मुक्तिको दृढ संकल्प गरे ।

आफूभित्र एउटा प्रण गरें । यहींभित्र विद्रोह गर्छु’, उनले भनिन् । त्यतिबेलाका दिन सम्झिँदा अहिले पनि उनलाई कस्तो कस्तो लाग्छ । पछि विस्तारै उनको क्रियाशीलता र जुझारुपनको पार्टीले मूल्यांकन ग¥यो । पञ्चा अखिल (क्रान्तिकारी) को एरिया अध्यक्ष भइन् । उनी २०५८ साल असोजमा जिल्ला समिति सदस्य चयन भएकी थिइन् ।

२०५९ मा जिल्ला कमिटी कोषाध्यक्ष र २०६० मा जुम्ला र कालिकोटको अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् । पछि २०६२ मा गृह जिल्ला कालिकोटको अध्यक्ष बनिन् । २०६४ को १७ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, २०६५ फाल्गुनको एकता भेलाबाट सचिवालय सदस्य हुँदै २०६७ को राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य तथा साविक भेरी कर्णाली प्रदेशको संयोजक बनेकी थिइन् ।

त्यसैगरी, वि.स.२०७२ को राष्ट्रिय भेलाबाट केन्द्रीय सचिव तथा भेरी कर्णाली प्रदेशको इन्चार्जसमेत बनिन् । त्यसपछि केन्द्रीय सचिव निवार्चित हुँदै जुम्लाका नरेन्द्र न्यौपाने अध्यक्ष हुँदा पञ्चा उपाध्यक्षको जिम्मेवारीमा थिइन् । २१औं महाधिवेशनमा उनी सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्षमै निर्वाचित भएकी थिइन् । हाल सुर्खेतमा बस्दै आएकी सिंह पार्टी र विद्यार्थी राजनीतिमा सक्रिय रुपमा सक्रिय छिन् ।

‘अखिलमा सिंहको आगमन आफैमा ऐतिहासिक हो । उहाँको नेतृत्वले हामीलाई थप ऊर्जा दिने कुरामा विश्वस्त छौं । अर्कातिर हाम्रो कर्णालीको लागि यो गौरवको कुरा हो’, विद्यार्थी नेतृ ममता अधिकारी भन्छिन् ।

आधा आकाश ओगट्ने सक्ने र संसार चलाउने सक्ने महिला नेतृत्वमा आउनु कोशेढुंगा सावित हुने उनको भनाइ छ । यस्तै, विद्यार्थी नेतृ तथा अखिल क्रान्तिकारी प्रदेश कमिटीकी सह–संयोजक तिर्सना हमाल अखिलमा महिला नेतृत्व आउनु खुसीको कुरा भएको बताउँछिन् ।

उनका अनुसार राजनीतिमा महिला सधै सहायक होइन मूल नेतृत्वको लागि समेत सक्षम छन् भन्ने उदाहरण हो । पछिल्लो समय नेपालको विद्यार्थी राजनीतिको नेतृत्वमा महिलाहरू आउने क्रम बढेको छ । केही साता पहिले नेकपा एमाले निकट अनेरास्वीयूको अध्यक्षमा सुनिता बराल चयन भएकी थिइन् ।

यस्तै नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा समाजवादीको विद्यार्थी संगठनमा पनि आरती लामा महासचिव छन् । एमाले नेतृ तथा प्रतिनिधिसभा सदस्य नविना लामा र सामावादी पार्टीकी सचिव तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्री पनि विद्यार्थी राजनीतिबाटै पार्टी राजनीतिबाट उदाएकी हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १९ गते मंगलबार