बाँकेमा कांग्रेस महाधिवेशन: कोहलपुरमा पौडेल समूहको उम्मेदवारी घोषणा



कोहलपुर ।

बाँकेमा आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन अझै हुन सकेको छैन । लामो समयको रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको बाँकेमा दसैंअघि अधिवेशन हुने सम्भावना न्यून छ ।

वडादेखि जिल्ला नेतृत्वको लागि गुटगत स्वार्थ हाबी हुँदा बाँके अनिर्णयको बन्दी बनेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द पौडेल निकट नेता कार्यकर्ता अधिवेशन प्रक्रिया सुरु नुहुनुको दोष एक अर्कोलाई थोपारिहेका छन् ।

जिल्लाका आठ पालिकाका ८१ वटामा अधिवेशन नै सुरु हुन नसकेको बेला यहाँको कोहलपुर नगर कमिटीको निर्वाचनका लागि कांग्रेसको संस्थापन इतर पक्षले उम्मेदवारी घोषणा गरेको छ ।

शनिबार कोहलपुरमा बसेको कार्यकर्ता भेलाले नयाँ कार्य समितिका लागि उम्मेवारी घोषणा गरेको हो । वर्तमान नगर सभापति बलराम शर्माको उपस्थितिमा नगरको विभिन्न पदको लागि उम्मेदवारी घोषणा भएको थियो ।

बाँकेमा दसैंपछि मात्रै वडा अधिवेशन लगायत तहगत निर्वाचन प्रक्रिया सुरु हुने पक्का जस्तै छ । तर, कोहलपुरमा भने त्यसको झण्डै दुई साता अघि नै संस्थापन इतर पक्ष चुनावी माहोलमा सक्रिय भएको हो ।

प्यालन नै बनाएर उम्मेदवारी घोषणा भएपछि अन्य जिल्लामा जस्तै बाँकेमा समेत गुटगत रुपमा निर्वाचन हुने सम्भावना देखिएको छ । नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितिका विभिन्न पदको लागि वीरेन्द्रकुमार शाहको नेतृत्वमा प्यानल नै घोषणा भएको हो । शाह नगर सभापतिको लागि उम्मेदवार बनेका छन् । यस्तै उप–सभापतिमा अंशु चौधरी र सचिवमा शुसिल सापकोटाले उम्मेदवारी घोषणा भएको छ ।

सापकोटा वर्तमान कार्य समितिका पनि सचिव नै हुन् । नगर कार्यसमितिका अन्य पदका लागि उम्मेदवारी केही दिनमै टुंग्याइने संस्थापन इतर पक्षले जनाएको छ ।

उक्त भेलाले कोहलपुर नगरपालिकाका विभिन्न वडा सभापति र अन्य पदाधिकारीहरूको समेत उम्मेदवारी घोषणा गरेको नगर सभापति बलराम शर्मा बताउँछन् । संस्थापन इतर पक्षबाट नेपाली कांग्रेस कोहलपुर–२ को वडा सभापतिमा बालकुमार शर्मा, वडा नम्बर ३ मा गणेश थापा, ४ मा महेन्द्र थापा र वडा नम्बर ५ मा अमृत श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको हो ।

यस्तै कोहलपुर–६ को वडा सभापतिका लागि रामकिसुन थारु, वडा नम्बर ७ मा पतिराम थारु, वडा नम्बर ८ मा बेल बहादुर बस्नेत, वडा नम्बर ९ मा मान बहादुर राना र १० मा मेघनाथ भट्टराई उम्मेदवार बनेका छन् । यसैगरी वडा नम्बर ११ मा प्रताप देवकोटा, वडा नम्बर १२ मा केश कुमारी वली, वडा नम्बर १३ मा काली बहादुर वली र वडा नम्बर १५ मा दिपेन्द्र थारुलाई वडा सभापति पदमा उम्मेद्वारी घोषणा गरिएको छ । उक्त पक्षका अनुसार वडा नम्बर १ र १४ मा भने केहीदिन मै उम्मेदवारी घोषणा गरिनेछ ।

संस्थापन इतर पक्षको नेतृत्व गर्दै नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका शाह पार्टीको नीति र विचारमा अडिक रहेर आगामी आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउने योजनासहित उम्मेवारी दिएको बताउँछन् ।

पार्टीलाई जनता माझ लोकप्रिय बनाउन, जनमुखी काम गर्ने सोचका साथ आफूले उम्मेदवारी दिएको उनले जानकारी दिएका छन् । यस्तै उनले आफ्नो जुजारु टिमलाई जिताउन समेत नेपाली कांग्रेस कोहलपुरका कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

यता, संस्थापन पक्षले पनि अधिवेशनको आन्तरिक तयारी भइरहेको बताएको छ । वर्तमान कार्यसमितिका सचिव तथा संस्थापन पक्षका नेता भूमबहादुर भण्डारी आफ्नो पक्षबाट नगर कार्यसमितिको लागि उम्मेदवारी घोषणाको लागि आन्तरिक छलफल रहेको बताउँछन् । बाँकेमा वडा देखि नगर अधिवेशन दसैंपछि नै हुने निश्चित जस्तो भएकोले आफूहरूले हतार नगरेको तर शसक्त तयारी भइरेको उनले जानकारी दिए । ‘बाहिर बाँकेमा क्रियाशील सदस्यता विवाद टुंगियो भनिएको छ ।

तर, कोहलपुरको सदस्यता प्रमाणित भएर अझै आउन सकेको छैन । अघिवेशनको सेड्युल समेत नआएकोले केन्द्रको निर्णय कुरिरहेका छौं’, मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । संस्थापन इतर पक्षले वडादेखि नगरसम्म उम्मेदवार घोषणा गरिसक्यो, संस्थापन पक्षले कहिलेसम्म घोषणा गर्छ भन्ने प्रश्नमा सचिव भण्डारीले नगरमा इतर पक्षकै उम्मेदवार घोषणा भएको बताए ।

तर, वडामा भने कार्यकर्तामा भ्रम सिर्जना गर्नको लागि संस्थापन पक्षका नेताहरूको नाम समावेश भएको देखिएको उनको भनाइ छ । आफ्नो पक्षले वडादेखि नगरसम्म एकमुष्ट उम्मेदवारी घोषणा गर्ने भण्डारीले बताएका छन् । कोहलपुर नगरमा दुई पक्षबीच चुनाव हुने सम्भावना रहेको पनि उनले जानकारी दिए । नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले जिल्लाभर अघिवशेनको आन्तरिक तयारी तीव्र पारिएको बताएकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १८ गते सोमबार