कोरोना भाइरस (कोभिड–१९) महामारीको कहरले बाँकेमा कुनै साहित्यिक गतिविधि हुन सकेन । कोरोनाका कारण विश्वभर झै बाँके कोरोनाको हटस्पष्ट बनेका कारण लामो समय साहित्यिक गतिविधि ठप्प भएका थिए । कोरोना संक्रमणको भय नहुँदो हो त बाँकेका नेपालगञ्ज र कोहलपुरमा साता बिराएर कार्यक्रम भइरहन्थे ।
तर, लामो समयपछि बाँकेमा साहित्यिक माहोल पुनः सुचालू हुन थालेको छ । शनिबार कोहलपुरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँकेको आयोजनामा एकै मञ्चमा तीन फरक कार्यक्रम सम्पन्न भए ।
लामो समयपछि भौतिक उपस्थिति मै स्रष्टा सम्मान, कृति विमोचन र कविता वाचन कार्यक्रम एकैसाथ सम्पन्न भएको हो । उक्त अवसरमा पूर्णिमाले बर्सेनि प्रदान गर्दै आएको तुलसीराम स्मृति पुरस्कार–२०७७ बाट नेपालगञ्ज निवासी वरिष्ठ उर्दु साहित्यकार ८० वर्षीय अब्दुल लतिफ शौकलाई पुरस्कृत गरिएको थियो ।
एक समारोहकाबीच नगद ७ हजार ७ सय ७७ रुपैयाँ, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ । उनलाई उर्दु तथा नेपाली गजल साहित्यमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
उनी अहिले पनि साहित्य सिर्जनामा क्रियाशिल छन् । शौक मध्यपश्चिम साहित्य प्रतिष्ठानका संस्थापक समेत हुन् । यस्तै उनले भेरी साहित्य समाजको उपाध्यक्षको रुपमा समेत काम गरिसकेका छन् । यसअघि पनि दर्जनौं साहित्यिक संघ–संस्था मार्फत सम्मानित भइसकेका उनलाई पूर्णिमाले समेत सम्मान गरेको हो ।
तुलसीराम स्मृति पुरस्कार अहिलेसम्म १२ जना स्रष्टाले पाइसकेका छन् । अघिल्लो वर्ष सरिता तिवारीलाई यो पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारका संरक्षक तथा साहित्यकार महानन्द ढकालका अनुसार नेपालका विभिन्न क्षेत्रमा रहेर साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकारहरुलाई प्रदान गर्दै आएको छ । उक्त अवसरमा दुई वटा कृति समेत विमोचन गरिएको हो ।
बद्री ढकाल (हिरामणि)द्धारा लिखित हाइकु संग्रह ठ्यौको र छविलाल खड्काको हाइकु संग्रह बिरौटो कार्यक्रमका प्रमुख अतिथि तथा भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सेना र लुम्बिनी प्रदेश सभा सदस्य पार्वती पुनः उषा लगायतले संयुक्त रुपमा विमोचन गरेका छन् ।
खड्काको बिरौटोमा गरिबी, संस्कृति, राजनीतिक नेतृत्व, सीमानाका समस्या लगायतका विषय समावेश छन् । कविताको सबैभन्दा कान्छो विधा साइनो संग्रहका रुपमा प्रकाशित बिरौटोलाई कृतिकारले विम्बात्मक र प्रतिकात्मक रुपमा प्रस्तुत गरेका छन् । यस्तै, शिक्षकसमेत रहेका ढकालको यो दोस्रो हाइकु कृति हो । उनको पहिलो हाइकु कृति दामको पूजा–२०७० मा प्रकाशित भएको थियो ।
उनको प्रतिनिधि हाइकुहरु –२०७७ मा ‐संयुक्त) कृति प्रकाशित छ । ढकालको दोस्रो व्यक्तिगत हाइकु संग्रह ठ्यौको विमोचन गरिएको हो । उनी प्रतिनिधि हाइकुका सम्पादक समेत रहेका छन् ।
नेपाल हाइकु केन्द्र बाँकेका संस्थापक अध्यक्ष समेत रहेका उनी सहिद् स्मृति केन्द्र नेपाल, भेरी साहित्य समाज र मधुरिमा नेपाल कला केन्द्र, बाँकेमा समेत आवद्ध रहेर निरन्तर साहित्य यात्रामा क्रियाशील छन् । नेपाली र अंग्रेजी भाषामा प्रकाशित कृतिको अंग्रेजी अनुवाद वि.एल. भारती र विजय न्यौपानेले गरेका छन् ।
यस्तै, लामो समयको कोभिड–१९ को कहरपछि कोहलपुरमा साहित्यिक माहोलको अवसर जु¥यो । धादिङकी युवा कविता सुनिता खनालका बाँकेका उदयीमान युवा कवि वीरेन्द्र जैशी (बि.पी. अस्तु) कवितामय वातावरणमा कोहलपुरमा गुञ्जिएका हुन् ।
‘ओ नायक’ कविता संग्रहकी लेखक-कवि खनालले बाँकेका कविता प्रेमीलाई आफ्ना उत्कृष्ट कविता सुनाएकी थिइन् । उक्त अवसरमा विभिन्न चरणमा गरी जम्मा आठ कविता वाचन गरेर सुनाएकी थिइन् । कविता वाचनका क्रममा उनले आमाको बैंस, ओ नायक, दुईटा पृथ्वी र चिसो घाम दोस्रो चरणमा आगोको ठेगाना, चीत्कार पैसा फल्ने रुख र प्रेमिल कविता तिमी आएपछि वाचन गरेकी थिइन् । बाँकेमा आएर आफ्ना कविता सुनाउने अवसरमा पाएकोमा उनले खुसी व्यक्त गरेकी थिइन् ।
यस्तै पत्रकारसमेत रहेका बाँकेका युवा कवि अस्तुले हिडाइ, युद्ध मृत्युसँग, शान्ति र नखस्नु शीर्षकका दमदार कविता तथा दोस्रो चरणमा विवशहरु, रोइदिएको भए, प्रेमकल्प र जेठको धुपमा मेरो गाउँ शीर्षकका कविता वाचन गरेका थिए । कविता वाचनमा सहभागी पत्रकार मधु शाहीले लामो समयको अन्तरालपछि दुई युवा कविको कविता सुन्न पाउँदा आनन्द महशुस भएको बताइन् ।
कोभिड–१९ को संक्रमण विस्तारै कम हुँदै गएकोले अब निरन्तर साहित्यिक गतिविधि हुनुपर्नेमा जोड दिइन् । उक्त अवसरमा बोल्ने अधिकांश वत्ताले साहित्यलाइ सन्तुलित रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्